जनकपुरमा कांग्रेसले आज चुनावी सभा गर्दै, सभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक हुने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ।नेपाली कांग्रेसले आज मधेशको राजधानी जनकपुरधाममा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा भएको ‘प्रतिज्ञा सभा’मा केन्द्रीय नेताहरूले आगामी राजनीतिक कार्यदिशाबारे धारणा राखेका छन्।
सभामा कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्दै मधेशको समृद्धि, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताप्रति पार्टी प्रतिबद्ध रहेको दाबी गरेका छन्। कांग्रेसले सभामा एक लाखभन्दा बढी मतदाताको सहभागिता रहने बताइएको छ ।
कांग्रेसले मधेशको पवित्र भूमि, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसर रहेको जनाएको छ ।
मधेश आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा आत्मसात गरेको नेपाली कांग्रेसको भनाइ छ ।
जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे काठमाडौंमा पनि पत्रकार सम्मेलन आयोजना गरिने कांग्रेसले जनाएको छ। आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञापत्रबारे जानकारी दिने कार्यक्रम रहेको छ।













