निर्वाचन सफलतापूर्वक सम्पन्न होस भन्दै बङ्गलादेशका प्रधानमन्त्रीले दिए शुभकामना

User Image Prime TV News २ हप्ता अगाडि
Image of निर्वाचन सफलतापूर्वक सम्पन्न होस भन्दै बङ्गलादेशका प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौ । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान र बालानन्द शर्माबीच ढाकामा भएको भेटवार्तामा नेपाल–बङ्गलादेश बिच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याइएको छ।

ढाकास्थित नेपाली राजदूतावासका अनुसार भेटका क्रममा प्रधानमन्त्री रहमानले नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका छन्। उनले लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिनु क्षेत्रीय स्थायित्वका लागि महत्वपूर्ण हुने उल्लेख गरेका छन्।

भेटमा परराष्ट्रमन्त्री शर्माले प्रधानमन्त्री रहमानलाई बङ्गलादेशको प्रधानमन्त्री पद सम्हालेकोमा बधाई दिँदै सुशीला कार्कीद्वारा पठाइएको शुभेच्छा सन्देश हस्तान्तरण गरेका थिए। सन्देशमा नेपाल सरकारले आपसी सम्मान र साझेदारीको आधारमा दुई देशबीच सहकार्य अघि बढाउन चाहेको उल्लेख छ।

दूतावासका अनुसार मन्त्री शर्माले बङ्गलादेशमा सम्पन्न निर्वाचन र त्यसपछि भएको सत्ता हस्तान्तरणलाई लोकतान्त्रिक प्रक्रियाको सकारात्मक उदाहरणका रूपमा उल्लेख गर्दै बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत हासिल गरेकामा प्रधानमन्त्री रहमानलाई बधाई दिएका थिए।

प्रधानमन्त्री रहमानले आफ्नो शपथग्रहण समारोहमा नेपालका परराष्ट्रमन्त्रीको सहभागितालाई दुवै देशबीचको मैत्री सम्बन्धको संकेत भएको बताएका छन्। उनले यसले नेपाल र बङ्गलादेशका जनताबीचको आपसी सद्भाव प्रस्ट पारेको धारणा राखेका थिए।

भेटवार्तामा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा र पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ। दुवै पक्षले यी क्षेत्रहरूमा व्यावहारिक प्रगति आवश्यक रहेकोमा जोड दिएका छन्।

यसअघि परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको शपथग्रहण समारोहमा सहभागी भएका थिए। सो अवसरमा उनले जमत-ए-इस्लामीका नेता शफिकुर रहमानसँग भेट गरी द्विपक्षीय सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए।