विज्ञहरूसँग सुझाव लिएर अघि बढ्छुः मन्त्री पुन

User Image Prime TV News १ हप्ता अगाडि
Image of विज्ञहरूसँग सुझाव लिएर अघि बढ्छुः मन्त्री पुन

काठमाडौ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्ना कार्यकालको प्रारम्भमा विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताएका छन्।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ ग्रहण गरेपछि सञ्चारमन्त्रीसँगको संवादमा पुनले आफू अप्रत्याशित रूपमा मन्त्री बनेको कारण अहिले नै धेरै नबोल्ने बताएका छन्।

मन्त्री पुनले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै प्राप्त हुने राम्रा सुझावहरूलाई ग्रहण गरेर सकेसम्म छिटो कार्यान्वयनमा लैजाने आफ्नो योजना रहेको बताए। पुनले आफूले मन्त्री बन्न नचाहेको भएपनि परिस्थितिले यो पदमा ल्याएको स्वीकार गरेका छन्।

यस्तै शिक्षामन्त्री पुनले आफूलाई बस्नका लागि कुनै सरकारी क्वाटर नचाहिने बताएका छन्। उनले मन्त्रालयमै सुत्ने योजना बनाएको र खाटको व्यवस्था गर्न निर्देशन दिएका छन् । पदभार ग्रहण गरेको पछि पत्रकारसँग कुरा गर्दै पुनले अविस्कार केन्द्रबाट राजीनामा दिइसकेको जानकारी दिएका छन्। 

मन्त्री पुनले आफूलाई कुनै सुरक्षा पनि नचाहिने बताए । उनले भने,"सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिस र एउटा आर्मीको साथी आउँछन्। मैले भाइहरुलाई भनेको छु, रिपोर्ट गर्नु कमाण्डरहरुलाई। म यो मन्त्रालयमा छँदा यहीँ बस्छु। यहाँबाट बाहिर निस्किएपछि पछिपछि आउनु पर्दैन।"

उनले मन्त्रालयको गाडी भने औपचारिक कामका लागि मात्र प्रयोग गर्ने बताए।