युट्युब करिब एक घण्टा विश्वव्यापी रूपमा अवरुद्ध

User Image Prime TV News २ हप्ता अगाडि
Image of युट्युब करिब एक घण्टा विश्वव्यापी रूपमा अवरुद्ध

काठमाडौ । विश्वकै सबैभन्दा लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युब बुधबार बिहान करिब एक घण्टा विश्वव्यापी रूपमा अवरुद्ध भएको छ।

अचानक सेवा बन्द हुँदा विश्वभरका करोडौँ प्रयोगकर्ता भिडियो हेर्न, अपलोड गर्न तथा लाइभ स्ट्रिम प्रयोग गर्न असमर्थ भएका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सेवा अवरुद्ध भएको समयावधिमा प्रयोगकर्ताहरूले एप तथा वेबसाइट दुवैमा समस्या भोगेका थिए।

सेवा निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार उक्त समयमा दुई लाखभन्दा बढी प्रयोगकर्ताले युट्युब नचलिरहेको भन्दै गुनासो दर्ता गराएका थिए।

समस्या मुख्य रूपमा अमेरिका तथा केही अन्य देशमा तीव्र देखिए पनि विश्वका विभिन्न क्षेत्रका प्रयोगकर्ताले छोटो समयका लागि सेवा अवरुद्ध भएको अनुभव गरेका थिए। करिब एक घण्टापछि युट्युबको सेवा क्रमशः सामान्य अवस्थामा फर्किएको बताइएको छ।

हाल युट्युब पूर्ण रूपमा सञ्चालनमा रहे पनि सेवा अवरुद्ध हुनुको ठोस कारणबारे कम्पनीले कुनै स्पष्ट जानकारी सार्वजनिक गरेको छैन।