इरान अमेरिका परमाणु वार्ता निष्कर्षविहीन

User Image Prime TV News २ हप्ता अगाडि
Image of इरान अमेरिका परमाणु वार्ता निष्कर्षविहीन

काठमाडौ । इरान र संयुक्त राज्य अमेरिका बीच परमाणु कार्यक्रमलाई लिएर जेनेभा मा भएको नयाँ चरणको वार्ता कुनै ठोस निष्कर्ष बिना समाप्त भएको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बैठक करिब तीन घण्टासम्म चलेको थियो। मंगलबार सम्पन्न यो वार्ता परमाणु मुद्दामा दुई देशबीचको दोस्रो चरणको छलफल थियो।

वार्ता चलिरहेकै बेला इरानले स्ट्रेट अफ हर्मोज क्षेत्रमा फायरिङ अभ्यास सुरु गर्दै मिसाइल प्रहार गरेको छ। इरानले हर्मोज स्ट्रेटलाई अस्थायी रूपमा बन्द गरेको घोषणा गरेपछि यस क्षेत्रको सुरक्षा अवस्था गम्भीर बनेको छ। यो जलमार्ग विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने अत्यन्त संवेदनशील मार्ग मानिन्छ।

इरानको अर्धसैनिक बल रिभोलुसनरी गार्डले फारस र ओमानको खाडीमा पर्ने हर्मोज स्ट्रेट क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको पुष्टि गरेको छ। इरानको भित्री भूभाग, तटीय क्षेत्र र टापुहरूबाट प्रहार गरिएका मिसाइलहरूले समुद्री लक्ष्यहरू सफलतापूर्वक भेदेको इरानी दाबी छ।

अर्कोतर्फ, अमेरिकाले पनि यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउँदै दुईवटा युद्धपोत तैनाथ गरेको छ। इरानी सैन्य अभ्यासका क्रममा हर्मोज स्ट्रेटको उत्तरी भाग हुँदै गइरहेका नौसैनिक जहाजहरूले रेडियो चेतावनी सन्देश प्राप्त गरेका छन्, जुन इरानको तर्फबाट दोस्रो चेतावनी भएको जनाइएको छ।

कूटनीतिक मोर्चामा, इरान केवल परमाणु कार्यक्रममा सीमित वार्ता गर्न चाहेको छ भने अमेरिकाले क्षेत्रीय सुरक्षा र आन्तरिक मुद्दाहरू पनि छलफलमा समेट्न खोजेको छ। यही मतभेदका कारण वार्ता निर्णायक चरणमा पुग्न नसकेको देखिन्छ।

इरानी विदेश मन्त्रालयले भनेको छ, “परमाणु मुद्दामा केही प्रगति भएको छ, तर अझै स्पष्ट परिणाम देखिएको छैन।” यो वार्ता अमेरिकी दूत स्टिभ विटकफ र जेरेड कुश्नर तथा इरानी विदेशमन्त्री अब्बास आराघची बीच ओमान को मध्यस्थतामा भएको थियो।

एक अमेरिकी अधिकारीले भने, “केही प्रगति भए पनि धेरै विषयमा अझै सहमति हुन बाँकी छ। इरानले आगामी दुई हप्ताभित्र विस्तृत प्रस्ताव ल्याउने अपेक्षा गरिएको छ।”