रास्वपाकी मधेश प्रदेश संस्थापक सभापति ममता शर्माको राजीनामा, आर्थिक अनियमितताको आरोप

User Image Prime TV News २ हप्ता अगाडि
Image of रास्वपाकी मधेश प्रदेश संस्थापक सभापति ममता शर्माको राजीनामा, आर्थिक अनियमितताको आरोप

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी मधेश प्रदेश संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन्।

हाल केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेकी हुन्। मंगलबार जारी विज्ञप्तिमा उनले पार्टीभित्र इमानदार र निष्ठावान व्यक्तिहरूको मूल्यांकन नभएको तथा निर्णय प्रक्रियामा आर्थिक अनियमितताको प्रभाव परेको आरोप लगाएकी छन्।

आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको दाबी गर्दै उनले यस्तो अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुगेको उल्लेख गरेकी छन्। “आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने परिस्थिति बनेको छ। यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु,” विज्ञप्तिमा उल्लेख छ।

उनले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जनाएकी छन्। यसअघि पनि टिकट वितरणका क्रममा आर्थिक चलखेल भएको आरोप लगाउँदै रास्वपाका केही नेताहरूले पार्टी छोडेका थिए।