१७ वर्षपछि स्वदेश फर्किएका तारिक रहमान प्रधानमन्त्री,
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी)का अध्यक्ष तारिक रहमानले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
उनलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले संसद भवन परिसरमा आयोजित विशेष समारोहमा शपथ गराएका हुन्। यसअघि शपथ ग्रहण राष्ट्रपति भवनमा हुँदै आएको थियो, तर यसपटक खुला आकाशमुनि मञ्च निर्माण गरेर कार्यक्रम आयोजना गरिएको थियो।
गत फेब्रुअरी १२ मा सम्पन्न आमनिर्वाचनमा बिएनपीले दुई तिहाइ बहुमत हासिल गरेपछि रहमान प्रधानमन्त्री बनेका हुन्। प्रमुख प्रतिस्पर्धी दल अवामी लिगमाथि प्रतिबन्ध लगाइएकाले निर्वाचन एकतर्फी बनेको टिप्पणी विपक्षी वृत्तबाट हुँदै आएको छ।
शपथ ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री रहमानले मुलुकमा शान्ति र कानुनी शासन कायम राख्न प्रतिबद्ध रहेको बताए। “कुनै पनि प्रकारको अराजकता सहन गरिने छैन,” उनले चेतावनी दिँदै समर्थकहरूलाई बदलाभाव नराख्न आग्रह गरे। समारोहमा विभिन्न मुलुकका प्रतिनिधिहरू सहभागी थिए।
तारिक रहमान पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्। २००७ मा भ्रष्टाचार आरोपमा पक्राउ परेर उनी करिब १८ महिना जेल बसेका थिए। त्यसपछि २००८ मा लन्डन प्रस्थान गरेका रहमान १७ वर्ष निर्वासनमा रहे।
गत वर्ष आमाको स्वास्थ्य अवस्था बिग्रिएपछि स्वदेश फर्किएका उनले खालिदा जियाको निधनपछि औपचारिक रूपमा पार्टी नेतृत्व सम्हालेका थिए। लामो निर्वासनपछि सिधै सत्तामा पुगेका रहमानको उदयलाई विश्लेषकहरूले बिएनपीको राजनीतिक पुनरुत्थानका रूपमा व्याख्या गरेका छन्।
बंगलादेशको राजनीति लामो समयदेखि अवामी लिग र बिएनपीबीच ध्रुवीकृत रहँदै आएको छ। अवामी लिगकी नेतृ तथा पूर्वप्रधानमन्त्री शेख हसिना र खालिदा जियाबीचको कटु प्रतिस्पर्धाले मुलुकलाई पटक पटक राजनीतिक संकटतर्फ धकेलेको इतिहास छ।
अवामी लिगका संस्थापक तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको विरासत बोकेको दल र जियाउर रहमानले स्थापना गरेको बिएनपीबीचको वैचारिक तथा राजनीतिक टकराव स्वतन्त्रता संग्रामपछिका दशकदेखि निरन्तर चल्दै आएको छ।
हालै विद्यार्थी आन्दोलन र राजनीतिक असन्तोषका कारण शेख हसिना सत्ताच्युत भएपछि बंगलादेशको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आएको हो। यससँगै बिएनपीको भारी जितले सत्ता सन्तुलन पूर्ण रूपमा उल्टिएको छ।
प्रधानमन्त्री रहमानसामु अब राजनीतिक स्थायित्व कायम गर्ने, विभाजित समाजलाई एकताबद्ध गर्ने र अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्ध अघि बढाउने चुनौती छ। अवामी लिगमाथिको प्रतिबन्ध, विगतका प्रतिशोधपूर्ण राजनीति र संस्थागत लोकतन्त्रको पुनर्निर्माण जस्ता विषय आगामी दिनमा उनको नेतृत्वको परीक्षा बन्ने देखिन्छ।













