प्रचण्डको रुकुमपूर्व भ्रमण : दुर्गम बस्तीमा जनताको उत्साह र माग सुन्दै

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रचण्डको रुकुमपूर्व भ्रमण : दुर्गम बस्तीमा जनताको उत्साह र माग सुन्दै

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' चुनावी अभियानका क्रममा रुकुमपूर्व जिल्लाका विकट गाउँहरू भ्रमण गर्दै छन्। उनले नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रा गरी रूकुमकोट पुगेका छन्।

भ्रमणको क्रममा प्रचण्डले भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडाहरूमा दुई तीन दिनमै कठिन अभियान सम्पन्न गरेको बताएका छन्। उनले जनताको अभूतपूर्व उत्साहले भौतिक कठिनाइ महसुस नभई नयाँ ऊर्जा प्राप्त भएको बताए।

जनताबाट उठेका मुख्य मागमा सडक सञ्जालको विस्तार, अधुरा बाटो पूरा गर्नु, क्रमागत योजनाको कार्यान्वयन, र पुल नभएका स्थानमा पुल निर्माण गर्नु समावेश रहेको छ। साथै, शिक्षा, पर्यटन र रोजगारीप्रति पनि जनताको विशेष चासो देखिएको प्रचण्डले बताए।

“यसअघि निर्वाचित नेताबाट भएका कामप्रति हामीलाई खुशी छ, तर अब काम गुणात्मक हुनुपर्छ भन्ने जनताको अपेक्षा स्पष्ट छ,” उनले भने। अभियानका क्रममा प्राप्त ज्ञापनपत्रलाई वर्गीकरण गरी प्रचण्डले आगामी पाँच वर्षभित्र जिल्लामा गुणात्मक काम गर्ने प्रतिबद्धता जनाएका छन्।

रुकुमपूर्वलाई ‘क्रान्तिको आधारभूमि’ भन्दै उनले यहाँबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने उद्घोष पनि गरेका छन्।