रास्वपाकी संस्थापक सदस्य खेम कुमारी भुर्तेलले पार्टीबाट राजीनामा दिइन्
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक सदस्य तथा गत आम निर्वाचनकी प्रत्यक्ष महिला उम्मेदवार खेम कुमारी भुर्तेल (उर्मिला) ले पार्टीको कार्यशैलीप्रति असन्तुष्ट हुँदै राजीनामा दिएकी छन्। उनी अब साधारण सदस्यसमेत होइनन्।
राजीनामा पत्रमा भुर्तेलले उल्लेख गरेकी छन् कि उनी २०७९ सालको प्रत्यक्ष महिला उम्मेदवारमध्ये मधेस प्रदेशकी एक्लो महिला उम्मेदवार हुन् र पार्टीमा निस्वार्थ भावले निरन्तर योगदान गर्दै आएकी थिइन्। तर पार्टीभित्र चाप्लुसीवाद, आर्थिक विवाद र सक्षम महिला तथा युवाहरूलाई जिम्मेवारी दिने सट्टा नारामा सीमित राखिएको देखेर उनी असन्तुष्ट भएकी छिन्।
उनले पार्टीभित्र भ्रष्टाचार बढेको, जिम्मेवारी लिनुपर्ने ठाउँमा बेवास्ता भएको र आगामी फागुन २१ गतेको निर्वाचन सम्बन्धि निर्णय तथा कार्यशैली पार्टीको स्थापनाकालीन मूल्य र विधानसँग मेल नखाने भएको अनुभव गरेको उल्लेख गरेकी छन्।
भुर्तेलले भनिन्, “सङ्गठनमा दिनरात खटिएका क्षमतावान सदस्यहरूको योगदानको उचित मूल्याङ्कन नभएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा लागू नभएको, र आर्थिक अनियमितताबाट निर्णयहरू प्रेरित भएकोले मेरो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच आउँदो परिस्थिति बनेको छ।”
उनले थपेकी छन् कि पार्टी संकटमा परे पनि उनले गरेका योगदानहरू आम नागरिकलाई जानकारीमा छ र अब यी क्रियाकलापहरूको साक्षी बनेर मौन रहिरहन असमर्थ छिन्।












