कांग्रेस कपिलवस्तुले दीपकुमार उपाध्याय र १९ जनाविरुद्ध ५ वर्ष कारबाही सिफारिस
Prime TV News २ हप्ता अगाडि 
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु जिल्लाले आफ्ना पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्याय र उनका छोरा आशिष शर्मासहित १९ जनाविरुद्ध पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएपछि ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिस गरेको छ।
जिल्ला सभापति अब्दुल कलामका अनुसार, कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवारी दिएका आशिष शर्मा, पूर्वकेन्द्रीय सदस्य उपाध्याय, क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ लगायत १९ जनालाई कारबाहीका लागि लुम्बिनी प्रदेश समिति र केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको छ।
कपिलवस्तु जिल्ला अनुशासन समितिले फागुन ३ गतेको बैठकमा पार्टीको विधानको धारा ३४ को उपधारा ४ (क) र (ख) अनुसार उक्त कारबाही सिफारिस गरेको थियो। कांग्रेसले यस क्षेत्रमा अतहर कमललाई आधिकारिक उम्मेदवार बनाएको थियो।
कारबाही सिफारिस गर्ने समितिमा महासमिति सदस्य राजेशबहादुर सिंह, कमल टण्डन, विष्णु प्रसाद न्यौपाने तथा जिल्ला सदस्य हरिराज घिमिरे, दुर्गा केसी, कमलराज आचार्य, डोलकराम घिमिरे लगायत थिए।
उपाध्याय पूर्वमन्त्री, पूर्वसांसद र भारतका लागि नेपालका पूर्वराजदूत रहिसकेका छन्।












