राष्ट्रिय सहमति बिना निर्वाचन उपयुक्त नहुने पूर्वराजा शाहको भनाई

User Image Prime TV News २ हप्ता अगाडि
Image of राष्ट्रिय सहमति बिना निर्वाचन उपयुक्त नहुने पूर्वराजा शाहको भनाई

काठमाडौ । ज्ञानेन्द्र शाहले मुलुकमा देखिएका राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचन प्रक्रियामा अघि बढ्नु उपयुक्त नहुने बताएका छन्।

७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै उनले प्रजातान्त्रिक व्यवस्थामा आवधिक निर्वाचन स्वाभाविक अभ्यास भए पनि वर्तमान परिस्थितिको संवेदनशीलतालाई मध्यनजर गर्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार अहिले जनस्तरमा राष्ट्रिय मुद्दाहरूको सम्बोधन पहिलो प्राथमिकता हुनुपर्ने आवाज उठिरहेको छ। “पहिले समस्याको निकास, त्यसपछि निर्वाचन प्रक्रिया,” भन्ने धारणा व्यापक रूपमा व्यक्त भइरहेको उनले उल्लेख गरेका छन्।

पूर्वराजा शाहले निर्वाचनपश्चात मुलुकमा द्वन्द्व, असन्तोष वा राजनीतिक खिचातानी नबढोस् भन्ने विषयमा सबै पक्ष सचेत हुनुपर्ने बताए। त्यसका लागि दलहरूबीच व्यापक संवाद, राष्ट्रिय सहमति र समावेशी समझदारी आवश्यक रहेको उनको भनाइ छ।

देशको स्थायित्व र दीर्घकालीन शान्तिका लागि साझा दृष्टिकोणसहित अघि बढ्न उनले राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन्।