आजको प्रश्न पद्धति जोगाउने कि हार्ने भन्ने होः उपसभापति विश्वप्रकाश शर्मा
Prime TV News २ हप्ता अगाडि 
जनकपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश र मधेश संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो समयमा परिस्थितिलाई सम्हाल्न सक्ने नेतृत्वलाई अघि ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
जनकपुरमा आयोजित चुनावी चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले भने, “हामी जान्दछौँ, यो बेला देश दुखिरहेको छ, मधेश दुखिरहेको छ। अहिले मूल प्रश्न कसलाई जिताउने भन्ने होइन, यो परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ भन्ने हो।”
उपसभापति शर्माले कांग्रेसका लागि जित वा हार प्राथमिक विषय नभएको र अहिलेको बहस देशको पद्धति र व्यवस्थाको भविष्यसँग सम्बन्धित रहेको बताए। “कसले जित्ने भन्ने होइन, कसले सम्हाल्ने भन्ने हो। कांग्रेसले जीवनमा धेरै चुनाव जितेको छ, धेरै हारेको पनि छ। जित हार हाम्रो लागि नयाँ कुरा होइन। तर आजको प्रश्न पद्धति जोगाउने कि हार्ने भन्ने हो, समाजको सद्भाव कसले कायम राख्न सक्छ भन्ने हो,” उनले थपे।
शर्माले मधेशको योगदानको प्रशंसा गर्दै यस क्षेत्रलाई देशको अन्न भण्डारका रूपमा चित्रण गरे। “सबै नेपालीको पेटमा सबैभन्दा बढी अन्न दिने भूमि मधेश हो। मधेशका किसान र उनीहरूको प्रत्येक दानाप्रति हामी यहाँ कृतज्ञता व्यक्त गर्न आएका हौँ,” उनले भने।













