मधेसलाई शिक्षा र ज्ञानको केन्द्र बनाउने लक्ष्य छः गगन थापा
Prime TV News २ हप्ता अगाडि 
जनकपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसलाई ज्ञान र शिक्षाको केन्द्र बनाउने आफ्नो योजना सार्वजनिक गरेका छन्।
जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले मधेस ऐतिहासिक रूपमा शिक्षाको केन्द्र रहेको स्मरण गर्दै पहिले यहाँका गणित र विज्ञान शिक्षकहरूले पहाड र हिमालसम्म शिक्षाको ज्योति फैलाएको उल्लेख गरे।
तर वर्तमानमा शिक्षामा मधेस कमजोर देखिएको भन्दै अब यस क्षेत्रलाई पुनः ज्ञानको केन्द्र बनाउने लक्ष्य लिएको बताए। “मधेसलाई ज्ञानको केन्द्र बनाउन आएका छौँ,” उनले भने। थापाले संघीयतालाई बलियो बनाउन मधेसलाई केन्द्रमा राखेर योजना र संकल्पसहित अघि बढेको बताए।
“संघीयतालाई जोगाउनुपर्नेछ, कामकाजी बनाउनुपर्नेछ। मधेस प्रदेशलाई केन्द्रमा राखेर नेपालको संघीयतामा देखिएका समस्या हल गरेर संघीयताको आवश्यकता प्रमाणित गर्नेछौँ,” उनले भनिन्।
यस्तै उनले नेपालको भविष्यलाई सुरक्षित र समान बनाउने प्रतिज्ञा गरेका छन्। उनले अबको नेपाल यस्तो बनाउने दाबी गरेका छन् जहाँ युवाका आवाज सुन्ने र प्रश्न गर्दा राज्यको गोलीले नमारिने वातावरण हुनेछ।
"प्रश्न गर्दा कुनै युवकले भाद्र २३ गते जस्तो गोलीले मारिनु पर्दैन। कसैले सिंहदरबार जलाउन जानु पर्दैन। त्यस्तो नेपाल बनाउँछौँ," थापाले प्रतिज्ञा सभालाई सम्बोधन गर्दै भने। थापाले अबको नेपालको नेतृत्व यस्तो हुने विश्वास व्यक्त गरे जहाँ प्रधानमन्त्री वा अरु प्रमुख पदका व्यक्तिहरू कुनै पनि भ्रष्टाचारका काण्डमा नराम्रोसँग संलग्न हुने छैनन्।
"अब देशको प्रधानमन्त्री कुनै पनि काण्डमा नमुछिने प्रतिज्ञा गर्छौं। अब कसैले झुटो मुद्दाको सिकार हुनु पर्दैन। हातमा फाइल बोकेर काठमाडौँ धाउनुपर्दैन," उनले थपे। उनीसँगै कांग्रेसले आगामी १० वर्षमा प्रत्येक नेपालीलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण तयार गर्ने आफ्नो योजना प्रस्तुत गरेको छ।
"प्रत्येक नेपालीलाई सम्मानित भएर बाँच्न सक्ने बनाउनेछौँ," थापाले भने, "विश्वसामु स्वाभिमानी देश भनेर चिन्ने नेपाल बनाउनेछौँ। समृद्धिमा लम्किने नेपाल बनाउनेछौँ।" कांग्रेसले उक्त प्रतिज्ञा सभामा आफ्नो चुनावी घोषणापत्रलाई "प्रतिज्ञापत्र"को रूपमा प्रस्तुत गरेको छ। थापाले यसमा विश्वास व्यक्त गर्दै भने, "राजा जनकको भूमिका घोषणा गर्न, बाचा गर्न आएको होइन, प्रतिज्ञा गर्न आएको हुँ। राजा जनकले जस्तै कांग्रेसले आफ्नो प्रतिज्ञाबाट एक इन्च पर सर्नेछैन।"













