प्रजातन्त्र आम मानिसको मुहारमा झल्कनुपर्छ, युवाको भूमिका महत्वपूर्णः प्रधानमन्त्री सुशीला कार्की

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रजातन्त्र आम मानिसको मुहारमा झल्कनुपर्छ, युवाको भूमिका महत्वपूर्णः प्रधानमन्त्री सुशीला कार्की

काठमाडौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्रको वास्तविक अर्थ प्रक्रियामा मात्रै सीमित नगरी, यसले आम मानिसको जीवन र मुहारमा प्रत्यक्ष असर पुर्याउनुपर्ने बताएकी छन् । आज राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिकमञ्च टुँडीखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले युवाको भूमिका राष्ट्रको शान्ति र समृद्धिमा महत्वपूर्ण भएको उल्लेख गरिन्।

"प्रजातन्त्रको वास्तविक झल्को आम मानिसको मुहारमा देखिनुपर्छ, उनीहरूको मुस्कान र निस्फिक्री निद्रामा," प्रधानमन्त्री कार्कीले भनिन्। उनले युवालाई तिरष्कार गर्नुले कुनै राष्ट्रलाई शान्त बनाउन सक्दैन भन्दै भने, "युवामा ऊर्जा, नैतिक क्रोध र परिवर्तनको आकांक्षा छ। यस असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ।"

प्रधानमन्त्री कार्कीले समाजमा व्याप्त नातावाद, कृपावाद र भ्रष्टाचारप्रति युवाको असहिष्णुता र विरोधलाई स्वीकृति दिइन्। यसै क्रममा उनले जनतालाई सबै प्रकारका असमानताका विरुद्ध खडा रहन र परिवर्तनको प्रक्रियामा सक्रिय भूमिका खेल्न आग्रह गरिन्।

प्रधानमन्त्री कार्कीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा सरकारले सम्पूर्ण शक्ति लगाएको जानकारी दिइन्। फागुन २१ गते हुने निर्वाचनलाई स्वस्थ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकार क्रियाशील रहेको उनले बताइन्।

"हामीले यस निर्वाचनलाई भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सबै प्रयास गरिरहेका छौं," प्रधानमन्त्री कार्कीले थपिन्। उनले लोकतान्त्रिक स्थायित्व र सरकारको जिम्मेवारीको महत्वलाई स्पष्ट गर्दै, आगामी संसद र सरकारको योगदानले नेपाललाई "दिगो लोकतान्त्रिक स्थायित्व" को दिशामा लैजाने विश्वास व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई केवल प्रक्रिया नभई यसको परिणाम र कार्यान्वयनमा जोड दिइन्। "प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु र ढिलासुस्ती गर्नु लोकतन्त्रको अभ्यास होइन," उनले भनिन्। साथै, उनले मुलुकमा शान्ति र सुव्यवस्थाको स्थायीत्वको लागि सरकारका प्रयासहरूको महत्त्वलाई जनाइन्।

प्रधानमन्त्री कार्कीले सरकारको प्राथमिकता शान्ति र निर्वाचनको वातावरणलाई व्यवस्थित गर्न रहेको उल्लेख गर्दै, "हामीले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएका छौं र सुशासन, पारदर्शिता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रुपान्तरण गर्ने प्रयास गर्दैछौं।"

उनले विश्वास व्यक्त गर्दै भने, "आगामी निर्वाचनबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने छ।" प्रधानमन्त्री कार्कीको सम्बोधनले प्रजातन्त्र र युवाको शक्तिलाई महत्त्व दिँदै, सरकारको दृढ प्रतिबद्धता र आगामी चुनावको तयारीमा सरकारको कडा ध्यान केन्द्रित गरिएको जनाइएको छ।