२००७ सालको जनक्रान्ति नेपालको आधुनिक राजनीतिक परिवर्तनको मूलः गगनकुमार थापा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २००७ सालको फागुन ७ गतेको ऐतिहासिक जनक्रान्ति नै नेपालको पछिल्ला सबै राजनीतिक परिवर्तनको जननी भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “फागुन ७ ले १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य गर्दै आधुनिक नेपालको इतिहासको आधार तयार पारेको हो।”
सभापति थापाका अनुसार, उक्त क्रान्ति केवल राजनीतिक परिवर्तन नभई आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि अग्रगामी मार्ग प्रशस्त गर्ने साहसी कदम थियो। उनले जोड दिए कि प्रजातन्त्रले सुदृढ राष्ट्रियता, नागरिक अधिकार र जनसहभागिताको बलियो आधार निर्माण गरेको छ।
थापाले २०४६ सालको परिवर्तन र २०६२/६३ को आन्दोलनसम्म मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्नुको मुख्य ऊर्जा फागुन ७ को क्रान्ति नै भएको तर्क गरे। “मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रामा नेपाललाई डोर्याउने यस दिनले राष्ट्रिय स्वाधीनतामा ठूलो योगदान पुर्याएको छ,” उनले बताए।
सभापति थापाले लोकतन्त्रको स्थापनाका लागि जीवनको बलिदान दिने सहिदप्रति श्रद्धासुमन अर्पण गर्दै भने, “संविधानको संरक्षण र सङ्घीयताको स्थायित्व नै उनीहरू प्रति सच्चा सम्मान हुनेछ। आर्थिक समृद्धि मार्फत मात्र हामी शहीदहरूको सपना साकार पार्न सक्छौं।”
अन्तमा उनले सबै नेपालीमा प्रजातन्त्र दिवसको मंगलमय शुभकामना व्यक्त गर्दै, ज्ञात अज्ञात सपूतहरूको त्याग र साहसको उच्च सम्मान गरेका छन्।













