काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सबै पालिकाले साझा जिम्मेवारी लिने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सम्पूर्ण आर्थिक र व्यवस्थापकीय भार अब सबै पालिकाले संयुक्त रूपमा बोक्ने भएका छन्। काठमाडौं उपत्यका मेयर्स फोरमको १३ औं बैठकले उपत्यकामा फोहोर व्यवस्थापनलाई साझेदारीमा अगाडि बढाउने निर्णय गरेको छ।
बैठकको निर्णयअनुसार बञ्चरेडाँडा ल्याण्डफिल साइटमा भइरहेको फोहोर व्यवस्थापनको खर्च अब उपत्यकाका १७ वटै नगरपालिकाले उत्पादन हुने फोहोरको मात्रा अनुसार व्यहोर्ने छन्। यसअघि यो काम पूर्ण रूपमा काठमाडौं महानगरपालिकाले गर्दै आएको थियो।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, “फोहोर व्यवस्थापन उपत्यकाभरिका नगरपालिकाको साझा जिम्मेवारी हो। त्यसैले अब यसमा सबै स्थानीय तहको वित्तीय र व्यवस्थापकीय साझेदारी हुनेछ। छिट्टै यसका लागि स्पष्ट खाका तयार गरिनेछ।”
मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भने, “अहिलेसम्म काठमाडौं महानगरले गर्ने काम अब सबै पालिकाको सहभागीता हुनेगरी अगाडि बढ्नेछ। फोहोर व्यवस्थापन केवल काठमाडौं महानगरको जिम्मेवारी होइन।”
बैठकले उपत्यकामा अन्तर पालिका साइकल लेन निर्माण गर्ने निर्णय पनि गरेको छ। यस अन्तर्गत बूढानीलकण्ठको शिवपुरी डाँडादेखि काठमाडौं, ललितपुर र गोदावरी बोटानिकल गार्डेनसम्म साइकल लेन निर्माण गरिनेछ।
मेयर्स फोरमले यसलाई ‘सो–केस प्रोजेक्ट’ का रूपमा अघि बढाउँदै मास्टर प्लान तयार गर्ने निर्णय गरेको छ। साथै, सरकारसँग साइकल लेनसम्बन्धी कानून निर्माणको अनुरोध पनि गरिएको छ। परियोजना सफल भएमा अन्य पालिकामा विस्तार गरिने योजना छ।
बैठकले उपत्यकाको ट्राफिक जाम र कनेक्टिभिटी समस्या समाधान गर्न मास ट्रान्सपोर्टेसन अनिवार्य रहेको निष्कर्ष निकालेको छ। मेट्रो रेल निर्माणका लागि संघीय सरकार र दातृ निकायसँग सहकार्य गर्ने निर्णय पनि भएको छ।













