विश्वप्रकाश शर्माद्वारा ५ वर्ष स्थिर प्रधानमन्त्रीको प्रस्ताव

User Image Prime TV News १ हप्ता अगाडि
Image of विश्वप्रकाश शर्माद्वारा ५ वर्ष स्थिर प्रधानमन्त्रीको प्रस्ताव

धरान । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले प्रधानमन्त्रीको प्रणाली सुधार गर्दै ५ वर्ष स्थिर रहने सरकारको दिशामा नयाँ प्रस्ताव अघि सारेका छन्।

बिहीबार धरानको भानु चोकमा आयोजित सुनसरी क्षेत्र नम्बर–१ का उम्मेदवार सुजेन्द्र तामाङ को चुनावी प्रतिबद्धता घोषणासभामा उनले यो प्रस्ताव सार्वजनिक गरेका हुन्। शर्माले भने, “प्रधानमन्त्री ५ वर्ष टिक्न/टिकाउन नयाँ सोचसहितको संवैधानिक प्रावधान राख्न जरुरी छ। विगत ७५ वर्षमा कुनै पनि प्रधानमन्त्री लगातार ५ वर्ष टिक्न सकेका छैनन्।”

उनका अनुसार, प्रत्यक्ष निर्वाचन वा लोकप्रिय मतको आधारमा पहिलो हुने दलको नेता प्रधानमन्त्री बन्नेछन्। यदि बहुमत नपुगेमा ‘विनर्स टेक अल’ नीति अनुसार अपुग संख्या सुनिश्चित गरिनेछ। दोस्रो र तेस्रो हुने दलले ५ वर्ष विपक्षमै बस्नेछन्।

शर्माले चुनावअघि नै सबै राजनीतिक दल, बौद्धिक क्षेत्र र युवापुस्तासहित व्यापक सम्मेलन गरेर संवैधानिक सुधार र राष्ट्रिय सहमति गर्नुपर्ने पनि जोड दिए। यसबाट वर्तमान संविधान र राजनीतिक प्रणालीमा दर्जनभर सुधारका बुँदाहरू सार्वजनिक सहमतिमा ल्याइनेछ।

उनले सभामुख चयन भएपछि संसद्को पहिलो बैठकबाट सहमति अनुसारका प्रावधान संविधानमा अंकित गरिनुपर्ने बताए। शर्मा अनुसार, यस पहलले नेपालको राजनीतिमा दीर्घकालीन स्थायित्व र मजबूत नेतृत्व सुनिश्चित गर्ने उद्देश्य राख्दछ।