नेकपा एमालेको घोषणापत्र : युवा, महिला, श्रमिक र राष्ट्रसेवकलाई लक्षित विशेष सुविधा

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेकपा एमालेको घोषणापत्र : युवा, महिला, श्रमिक र राष्ट्रसेवकलाई लक्षित विशेष सुविधा

काठमाडौ । नेकपा एमालेले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा युवा, महिला, श्रमिक, शिक्षक, स्वास्थ्यकर्मी र राष्ट्रसेवकलाई लक्षित गरी आकर्षक सुविधा समेटिएको छ ।

अध्यक्ष केपी ओलीले आज सार्वजनिक गरेको घोषणापत्रअनुसार, पार्टीले सामाजिक सुरक्षा, आर्थिक सहायता र रोजगार प्रवर्द्धनमा जोड दिएको छ। घोषणापत्र अनुसार, युवा वर्गलाई हरेक महिना १० जीबी निःशुल्क इन्टरनेट डेटा, गरिब परिवारका लागि २५ हजार रुपैयाँसम्म ऋण मिनाहा, र उद्यमीका लागि १० हजार डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने योजना छ।

वैदेशिक रोजगारी गर्ने श्रमिकका खातामा ५ हजार रुपैयाँ जम्मा गर्ने, सामाजिक सुरक्षा सुनिश्चित गर्ने र न्यूनतम पारिश्रमिक २५ हजारसहित अन्य लाभ दिने व्यवस्था गरिएको छ। विद्यार्थीलाई २० लाख रुपैयाँ निर्ब्याजी ऋण, पारिश्रमिकसहित इन्टर्नशीपको अवसर र किशोरीलाई निःशुल्क प्याड तथा १० कक्षासम्म दिवा खाजा उपलब्ध गराउने योजना पनि समावेश गरिएको छ।

शिक्षकलाई सामाजिक सुरक्षा र मर्यादाक्रम सुनिश्चित गर्ने, स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षा उपलब्ध गराउने, महिलालाई २० लाख ऋण, २० हजार सुत्केरी भत्ता र गर्भवतीको निःशुल्क बीमा दिने व्यवस्था राखिएको छ।

पार्टीले गरिब परिवारका लागि २५ हजार रुपैयाँसम्म ऋण मिनाहा, सामाजिक सुरक्षा, र देश जोगाउने बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्ने योजना पनि अघि सारेको छ। नेकपा एमालेले आफ्नो घोषणापत्रमार्फत सामाजिक न्याय, रोजगारी, स्वास्थ्य र शिक्षामा जोड दिएर नागरिकको जीवनस्तर सुधार्ने उदेश्य राखेको छ।