कर्णालीलाई 'शिवभूमि' उपमा दिँदै बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीको विकास वाचापत्र सार्वजनिक गरे

User Image Prime TV News १ हप्ता अगाडि
Image of कर्णालीलाई 'शिवभूमि' उपमा दिँदै बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीको विकास वाचापत्र सार्वजनिक गरे

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले कर्णालीलाई ‘शिवभूमि’को उपमा दिँदै प्रदेशको विकास र समृद्धिका लागि प्रतिबद्धता व्यक्त गरे।

कर्णालीको सुर्खेतमा बिहीबार आयोजित वाचापत्र सार्वजनिक समारोहमा बोल्दै बालेनले कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्वको कुरा गर्दै उक्त प्रदेशको उत्पादन र सभ्यता संरक्षणमा आफ्नो पार्टी सक्रिय रहने दाबी गरे।

‘शिव भगवानको पाउमा पुगेर वाचापत्र सार्वजनिक गर्न पाउँदा म निकै खुसी छु,’ बालेनले समापन भाषणमा भने। उनले राजा महेन्द्र को पुरानो भनाइलाई उद्धृत गर्दै भने, “कर्णाली यो देशको सबैभन्दा ठूलो रारा ताल हो, जुन स्वर्गकी अप्सरा जस्तो रमणीय छ।”

बालेनले कर्णालीको प्राकृतिक स्रोत र उत्पादनको महत्वमा जोड दिँदै भने, “आजको दिनमा डोल्पाको यार्सागुम्बा विश्वभर पुग्न सक्छ, तर कर्णालीका स्याउ र मार्सी चामल देशभर पुग्न सकेका छैनन्। हाम्रो लक्ष्य यी उत्पादनहरूलाई सम्पूर्ण देशभर पुर्‍याउनु हो।”

उनले कर्णालीका उत्पादनलाई देशभरको बजारमा प्रवर्द्धन गर्ने रास्वपाको प्रतिबद्धता व्यक्त गर्दै स्थानीय उत्पादनको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराउने योजना बनाउन चाहेको बताए। कर्णालीको सांस्कृतिक धरोहर र भाषा संरक्षणका लागि पनि रास्वपाले ठोस कदम चाल्ने बालेनले वचन दिए। “सिञ्जा सभ्यता, नेपाली भाषा र खस भाषाको उद्गमस्थललाई जोगाउने पार्टी हामी हो,” उनले थपे।

बालेनले कर्णालीको ऐतिहासिक महत्व र यहाँको विशिष्ट सभ्यतालाई विश्वभर चिनाउनका लागि रास्वपा सबैभन्दा अघि बढेर काम गर्ने बताए। “कर्णालीको दुःख र गरिबीलाई बेचेर केही नेताहरू आएका छन्, तर हाम्रो उद्देश्य कर्णालीको समृद्धि र विकास हो,” उनले भने।

रास्वपाले कर्णालीका सबै विकासशील पक्षमा योगदान पुर्याउने आश्वासन दिएको छ। बालेनले भविष्यमा कर्णालीलाई विकसित र समृद्ध प्रदेश बनाउने आफ्नो पार्टीको लक्ष्य रहेको बताए। पार्टीको आगामी योजनामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन को क्षेत्रमा विशेष ध्यान दिइने पनि उनले स्पष्ट पारे।