रास्वपाले ‘थिति बसाल्ने सङ्कल्प’ नारासहित चुनावी बाचापत्र सार्वजनिक गर्यो (पूर्णपाठसहित)
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गर्दै रूपान्तरणका लागि १०० आधार समेटेको छ ।
बिहीबार कर्णालीको सुर्खेतमा आयोजित एक कार्यक्रमका बीच ‘थिति बसाल्ने सङ्कल्प’ नारासहित सार्वजनिक गरिएको यस बाचापत्रमा शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण, डिजिटल सुशासन र चुस्त सेवा प्रवाहलाई प्रमुख प्राथमिकता दिइएको छ।
रास्वपाले सरकारी सेवा प्रणालीलाई अझ प्रभावकारी र नागरिकमैत्री बनाउनका लागि ‘लाइन होइन, अनलाइन’ प्रणाली लागू गर्ने योजना अघि सारेको छ। यसका माध्यमबाट सरकारी सेवामा लाइनको समस्यालाई समाप्त गर्दै नागरिकलाई अनलाइन माध्यमबाट सहज पहुँच उपलब्ध गराउने आश्वासन दिइएको छ।
साथै, सरकारी कार्यालयहरूमा बिचौलियाको अन्त्य गर्ने र राष्ट्रिय परिचयपत्रलाई एकीकृत सेवाको आधार बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। रास्वपाले भ्रष्टाचार नियन्त्रण को लागि कठोर कदम चाल्ने योजना बनाएको छ।
बाचापत्र अनुसार, पार्टीले वि.सं. २०४६ सालदेखि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचारका फाइलहरू खोल्ने नीति लिने कुरा उल्लेख गरिएको छ। यसका अतिरिक्त, पार्टीले कुनै पनि प्रकारका भातृ सङ्गठन नखोल्ने र शिक्षा, स्वास्थ्य र सार्वजनिक संस्थानहरूलाई दलीय राजनीतिबाट पूर्ण रूपले मुक्त गर्ने निर्णय गरेको छ।
रास्वपाले डिजिटल अर्थतन्त्र, स्टार्टअप प्रवर्द्धन, र ‘मेक इन नेपाल’ अभियानलाई प्राथमिकता दिने कुरा पनि बाचापत्रमा उल्लेख गरिएको छ। यसका माध्यमबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिइएको छ। पार्टीले उत्पादनमुखी अर्थतन्त्र को निर्माण र नेपाली उत्पादनको प्रवर्द्धन गर्न चाहन्छ। यसले स्वदेशी उत्पादन को वृद्धि र रोजगारी सृजनामा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
रास्वपाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई मतदानको अधिकार (आई-भोटिङ) दिने र गैर-आवासीय नेपालीहरूलाई अधिकार सम्पन्न गराउने विषयलाई प्राथमिकतामा राखेको छ। पार्टीले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणालाई अघि सार्दै, विदेशमा रहेका नेपाली नागरिकलाई सशक्त बनाउने प्रयास गर्ने बताएका छन्।
रास्वपाले वातावरण संरक्षण, पूर्वाधार विकास, र सामाजिक न्याय जस्ता क्षेत्रहरूमा पनि ध्यान दिँदै समुन्नत नेपाल निर्माणका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गरेको छ। यसले द्रुत आर्थिक विकाससँगै समाजका सबै वर्गका लागि न्याय र अवसरको सुनिश्चितता गर्ने उद्देश्य राखेको छ।













