निर्वाचन आयोगद्वारा टिकटक भिडियो प्रतियोगिता सञ्चालन, मतदाता शिक्षालाई डिजिटल प्लेटफर्ममा लैजाने प्रयास
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई केन्द्रमा राख्दै टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ।
आयोगले युवामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई प्रयोग गर्दै निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षालाई प्रभावकारी बनाउने उद्देश्य लिएको जनाएको छ।
आयोगका अनुसार निर्वाचनलाई भव्य, सभ्य र सहभागितामूलक बनाउन टिकटकमार्फत सन्देश प्रवाह गर्न यो अभियान अघि बढाइएको हो। प्रतियोगिताअन्तर्गत सहभागीले निर्वाचनको महत्व, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता, मतपत्रमा छाप लगाउने सही तरिका, मतदाताको अधिकार र कर्तव्यजस्ता विषयमा आधारित एक मिनेटसम्मको मौलिक टिकटक भिडियो तयार गर्नुपर्नेछ।
तयार गरिएको भिडियो व्यक्तिगत सामाजिक सञ्जाल खातामा पोस्ट गर्नुपर्नेछ भने फागुन १७ गतेसम्म आयोगको इमेलमा समेत पठाउनुपर्ने व्यवस्था गरिएको छ। प्राप्त भएका भिडियोमध्ये सबैभन्दा बढी भ्युअर्स प्राप्त गर्ने तीनवटा भिडियो छनोट गरी पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ।
आयोगका अनुसार पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ। एक व्यक्तिले एउटै विषयमा एउटा मात्र भिडियो पठाउन सक्नेछन् भने दुई वा सोभन्दा बढी व्यक्ति सहभागी भएर पनि भिडियो निर्माण गर्न सकिनेछ।
भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिवेशमा आधारित हुनुपर्नेछ। संवादमूलक, सन्देशमूलक र मौलिक अडियो तथा अभिनय भएको सामग्रीलाई प्राथमिकता दिइने आयोगको भनाइ छ। साथै, प्रतियोगितामा प्राप्त सबै भिडियोमाथि आयोगको अधिकार रहने स्पष्ट पारिएको छ।
निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रभाव प्रयोग गरी मतदाता चेतना अभिवृद्धि गर्ने लक्ष्य राखे पनि भ्युअर्सको आधारमा मूल्यांकन गरिनु सामग्रीको गुणस्तरभन्दा लोकप्रियतालाई प्राथमिकता दिने जोखिमपूर्ण अभ्यास हुन सक्ने सरोकारवालाहरूले औँल्याएका छन्। तथापि, आयोगले यो अभियानले विशेषगरी युवालाई निर्वाचन प्रक्रियासँग जोड्न मद्दत गर्ने विश्वास लिएको छ।













