दाङमा रास्वपा कार्यकर्ताद्वारा एमालेको झण्डा जलाइयो, राजनीतिक तनाव बढ्यो
Prime TV News १ हप्ता अगाडि 
दाङ । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका छन्। घटना दाङको तुलसीपुर क्षेत्रमा भएको हो, जुन एमाले महासचिव शंकर पोखरेलको गृहनगरका रूपमा चिनिन्छ।
बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि जम्मा भएका कार्यकर्ताले एमालेको झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिर आएको हो। भिडियोमा झण्डा जलाउनुका साथै एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गरिएको देखिन्छ।
रास्वपा सभापति लामिछाने बिहीबार राति सुर्खेतबाट तुलसीपुर हुँदै घोराही पुगेका थिए। सोही क्रममा उक्त गतिविधि भएको बताइएको छ । घटनाप्रति एमालेका नेता तथा कार्यकर्ताले कडा आपत्ति जनाएका छन्।
उनीहरूले झण्डा जलाउने कार्यलाई लोकतान्त्रिक मूल्य मान्यताविरुद्धको गैरजिम्मेवार र उत्तेजक व्यवहारको संज्ञा दिएका छन्। एमाले पक्षले दोषीमाथि कारबाहीको मागसमेत गरेको छ।
यस घटनापछि दाङमा दुवै दलका समर्थकबीच राजनीतिक तनाव बढेको छ। स्थानीय प्रशासनले अवस्था नजिकबाट निगरानी गरिरहेको जनाएको छ।













