माओवादी केन्द्रका उम्मेदवारमाथि हातपात, थप तीन पक्राउ
Prime TV News १ हप्ता अगाडि 
नवलपरासी (पश्चिम) । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार राजु हरिजनमाथि दुर्व्यवहार तथा हातपात गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।
यसअघि एक जना पक्राउ परिसकेको अवस्थामा कुल पक्राउ संख्या चार पुगेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार फागुन ५ गते साँझ बर्दघाट नगरपालिका–१२ जमुनियामा चुनावी अभियानमा रहेका उम्मेदवार हरिजनमाथि अपरिचित व्यक्तिहरूको समूहले आक्रमण गरेको थियो। आक्रमणपछि उनीहरू फरार भएका थिए।
घटनाको प्रारम्भिक सूचना र खोजीका क्रममा इलाका प्रहरी कार्यालय बर्दघाट र अस्थायी प्रहरी पोस्ट भटौलियाको संयुक्त टोलीले फागुन ६ गते राति ११ बजेतिर फरार अभियुक्तहरूलाई उनीहरूकै घरबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बर्दघाट–१३ धनेवाका २२ वर्षीय दिपिन थापा, १९ वर्षीय आयुष राना मगर र १८ वर्षीय राम मिजार भनिने राज वि.सी. रहेका छन् । प्रहरीका अनुसार उम्मेदवारमाथि अभद्र व्यवहार गरी लुकिछिपी बसेको अवस्थामा उनीहरू फेला परेका हुन्।
पक्राउ परेका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालय बर्दघाटको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिएका छन्।
यसअघि सोही स्थानका ३१ वर्षीय अजय गौतम पनि पक्राउ परिसकेका छन्। उम्मेदवार हरिजनले आफूहरूमाथि मादक पदार्थ सेवन गरेका १०–१२ जना युवाको समूहले आक्रमण गरेको र उनीहरूले आफूहरू रास्वपाका कार्यकर्ता भएको दाबी गरेको आरोप लगाएका छन्।













