इरान–अमेरिका तनाव चुलिँदै: सैन्य अभ्यास, युद्धपोत तैनाथी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । पश्चिम एसियामा इरान र अमेरिकाबीचको तनाव खतरनाक मोडमा पुगेको छ।
इरानले बिहीबार रुस सँग वार्षिक संयुक्त सैन्य अभ्यास गरेको छ। यही समय अमेरिकी विमानवाहक पोत क्षेत्र नजिक तैनाथ हुनु संयोग होइन, स्पष्ट शक्ति–प्रदर्शन हो।
परमाणु कार्यक्रमलाई लिएर चलिरहेका अप्रत्यक्ष वार्ताहरूमा कुनै ठोस प्रगति नदेखिएपछि दुवै पक्ष युद्धका लागि मानसिक र सैनिक रूपमा तयारी गरिरहेको आशंका बढेको छ। अमेरिका र इरान दुवैले वार्ता असफल भए सैन्य विकल्प खुला रहने संकेत दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौताको आशा व्यक्त गरे पनि व्यवहारमा अमेरिकाले थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गरेको छ। भूमध्य सागरको मुहान नजिक अमेरिकी विमानवाहक पोत यूएसएस गेराल्ड आर फोर्ड को उपस्थितिले आवश्यक परे तुरुन्त आक्रमण गर्न सक्ने क्षमता ट्रम्प प्रशासनसँग रहेको देखाएको छ।
अमेरिका र इजरायलले इरानलाई आफ्नो मिसाइल कार्यक्रम कटौती गर्न र सशस्त्र समूहहरूसँगको सम्बन्ध तोड्न माग गर्दै आएका छन्। तर इरानले यी मागमाथि छलफल गर्न अस्वीकार गरेको छ र कुनै पनि आक्रमणले क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी दिएको छ।
यसै साता इरानले हर्मोजको खाडीमा ‘लाइभ–फायर’ सैन्य अभ्यास गरेको छ। विश्व व्यापारिक तेलको ठूलो हिस्सा यही साँघुरो मार्गबाट ओसारपसार हुने भएकाले त्यहाँ हुने कुनै पनि अवरोधले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्छ।
इरानभित्र पनि अवस्था अस्थिर छ। सुरक्षा बलद्वारा मारिएका प्रदर्शनकारीहरूको ४०औँ दिनको स्मृतिमा भइरहेका शोक सभामा सरकारविरुद्ध नाराबाजी बढ्दै गएको छ। गत वर्ष इजरायल र अमेरिकासँग भएको १२ दिने संघर्ष र आन्तरिक दमनपछि इरान सरकार कमजोर देखिए पनि उसले अझै इजरायल र अमेरिकी ठेगानामा आक्रमण गर्न सक्ने क्षमता रहेको दाबी गरेको छ।













