रुफटप भेहिकलमा निर्वाचन प्रचारमा पूर्ण रोक
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । केन्द्रीय सुरक्षा समितिले निर्वाचन प्रचारका क्रममा उम्मेदवारहरूले छत खुला (रुफटप) भेहिकल प्रयोग गर्न नपाउने निर्णय गरेको छ। उम्मेदवारहरूको जीवन र सार्वजनिक सुरक्षामा गम्भीर जोखिम बढेको निष्कर्षसहित यस्तो निर्णय गरिएको हो।
सुरक्षा समितिको बैठकले खुला छत भएको गाडीमा उभिएर प्रचार गर्दा उम्मेदवारमाथि आक्रमण, दुर्घटना र अवाञ्छित घटनाको जोखिम अत्यधिक हुने ठहर गरिएको छ।
हाल देशभर उम्मेदवारहरू खुला छत भएका गाडी प्रयोग गरी प्रचारमा निस्कने प्रवृत्ति बढेको भन्दै समितिले त्यसलाई सुरक्षाका दृष्टिले अस्वीकार्य मानेको छ। समितिले यस्तो अभ्यासलाई तत्काल निरुत्साहित गर्न र वैकल्पिक सुरक्षित माध्यम अपनाउन निर्देशन दिएको छ।
बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका प्रतिनिधि तथा प्रदेश र जिल्ला सुरक्षा समितिका अधिकारीहरू सहभागी थिए। प्रदेश र जिल्ला स्तरका अधिकारीहरू भर्चुअल माध्यमबाट जोडिएका थिए।
बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र तयारीको समीक्षा गर्दै तयारी सन्तोषजनक भए पनि थप कडाइ आवश्यक रहेको निष्कर्ष निकालेको छ। निर्वाचन अवधिभर जिल्ला सुरक्षा समितिको बैठक दैनिक बस्ने, सुरक्षा निकायबीच संयुक्त गस्ती बढाउने र संवेदनशील क्षेत्रमा निगरानी कडा बनाउने निर्णय गरिएको छ।
त्यसैगरी, कर्मचारी परिचालनमा तटस्थता र निष्पक्षता कडाइका साथ पालना गराउने र कर्मचारीका कारण कुनै पनि किसिमको दण्डहीनता हुन नदिने स्पष्ट निर्देशन दिइएको छ।













