बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा आराधना

User Image Prime TV News १ हप्ता अगाडि
Image of बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा आराधना

काठमाडौं । बडादशैंको दोस्रो दिन आज देशभर देवी दुर्गाका दोस्रो स्वरूप ब्रह्मचारिणी भगवतीको पूजा आराधना गरिँदैछ। घटस्थापनासँगै सुरु हुने नवरात्रमा नवदुर्गाका नौ रूपहरूको नौ दिनसम्म विशेष पूजा गर्ने परम्परा अनुसार आज ब्रह्मचारिणी देवीको पूजा भइरहेको हो।

नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्र्री, महागौरी र सिद्धिदात्री देवीको पूजा गरिन्छ।

ब्रह्मचारिणी देवीलाई तपस्याको प्रतीक मानिन्छ। यस दिन भक्तजनले ब्रह्मचर्य, संयम र आत्मअनुशासनको भावनासहित देवीको आराधना गर्ने गर्दछन्।

आजको दिन देशभरका प्रमुख शक्तिपीठ र दुर्गा मन्दिरहरूमा श्रद्धालु भक्तजनको भीड लागेको छ। काठमाडौं उपत्यकाभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणी शक्तिपीठमा दर्शनार्थीको चाप उल्लेखनीय देखिएको छ।

त्यस्तै, उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यवासिनी लगायतका शक्तिपीठहरूमा पनि भक्तालुहरूको घुइँचो लागेको छ।

नवरात्रको अवसरमा भक्तजनले व्रत बसी देवीको आराधना गर्दै मनोकामना पूरा होस् भन्ने कामना गर्छन्। यसरी दसैँका दिनहरू धार्मिक श्रद्धा, भक्ति र सांस्कृतिक उत्साहका साथ मनाइँदै छन्।