वायु प्रदूषणको चपेटामा काठमाडौं, स्वास्थ्य जोखिम बढ्दै

User Image Prime TV News १ हप्ता अगाडि
Image of वायु प्रदूषणको चपेटामा काठमाडौं, स्वास्थ्य जोखिम बढ्दै

काठमाडौ । राजधानी काठमाडौमा वायु प्रदूषणको स्तर फेरि खतरनाक बिन्दु नजिक पुगेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स १८२ पुगेको छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्छ। यससँगै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष पाँचभित्र परेको छ।

विज्ञहरूका अनुसार ०–५० सम्मको एक्यूआई राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ र १५१ माथि पुगेपछि सबैका लागि अस्वस्थ मानिन्छ। हालको सूचकांकले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा मुटु र श्वासप्रश्वाससम्बन्धी रोगीहरूलाई उच्च जोखिममा पारेको छ।

तथ्यांकले काठमाडौंको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६.५ गुणासम्म बढी रहेको देखाएको छ। सूक्ष्म कणयुक्त धूलो फोक्सोमार्फत रगतसम्म पुग्ने भएकाले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरू चेतावनी दिन्छन्।

उपत्यकाभित्र त्रिपुरेश्वर, बालकोट, कोटेश्वर र कुमारीपाटी क्षेत्रमा सबैभन्दा उच्च प्रदूषण मापन गरिएको छ। सुख्खा मौसम, बढ्दो सवारी चाप, निर्माण कार्य र सडकको धूलो प्रदूषण बढ्नुका मुख्य कारणका रूपमा औंल्याइएको छ।

प्रदूषणको स्तर बढेसँगै स्वास्थ्यकर्मीहरूले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, बाहिर निस्कँदा मास्क प्रयोग गर्न, झ्यालढोका बन्द राख्न तथा सम्भव भएसम्म एयर प्युरिफायर प्रयोग गर्न सुझाव दिएका छन्। विशेषगरी बिहान–बेलुका खुला ठाउँमा व्यायाम वा मोर्निङ वाक नगर्न आग्रह गरिएको छ।

विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पाकिस्तानको लाहोर पहिलो स्थानमा रहेको छ, जहाँ एक्यूआई ४१२ पुगेको छ। त्यसैगरी ढाका दोस्रो, नयाँ दिल्ली तेस्रो र कोलकाता चौथो स्थानमा रहेका छन्।