काठमाडौंमा दिनदहाडै ८१ लाख बराबरका सुनका गरगहना चोरी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राजधानी काठमाडौँमा दिनदहाडै ठूलो परिमाणमा सुनका गरगहना चोरी भएको घटना सार्वजनिक भएको छ।
टोखा नगरपालिका–३ साईबाबा चोकस्थित मेलमिलाप टोलमा बसोबास गर्दै आएका ५० वर्षीय उर्जेन लामाको घरबाट करिब ८१ लाख रुपैयाँ बराबरका सुनका गहना चोरी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो घर फोडी चोरी गरिएको भन्दै पीडित पक्षले उजुरी दिएका थिए। घटनापछि प्रहरी टोलीले स्थलगत अनुसन्धान थालेको छ भने चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य तीव्र बनाइएको छ। प्रारम्भिक अनुसन्धानमा घरमा कोही नभएको मौका छोपेर चोरी गरिएको आशंका गरिएको छ।
यसअघि पनि उपत्यकामा यस्तै प्रकृतिका घटनाहरू भइरहेका छन्। गएको माघ महिनाको तेस्रो साता नागार्जुन नगरपालिकाको एक घरबाट एक करोड रुपैयाँभन्दा बढीको सुन चोरी भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा बाँके घर भएका ३८ वर्षीय प्रेम चौधरीलाई प्रहरीले दुई दिनपछि पक्राउ गरेको थियो।
पछिल्लो समय दिनदहाडै घर फोडी हुने चोरीका घटनाले सर्वसाधारणमा त्रास बढाएको छ। प्रहरीले घर खाली छोड्दा विशेष सतर्कता अपनाउन, सीसीटीभी जडान गर्न र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।













