दाङमा झण्डा जलाउने घटनाप्रति अनेरास्ववियुको विरोध, कारबाहीको माग
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाप्रति आपत्ति जनाएको छ।
संगठनले यसलाई लोकतान्त्रिक मूल्य, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा प्रत्यक्ष आघात भएको ठहर गरेको छ। अनेरास्ववियुका अध्यक्ष दीपक धामीले जारी गरेको विज्ञप्तिमा राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक पक्ष भए पनि अरूको आस्था र विश्वासमा आक्रमण गर्नु लोकतान्त्रिक संस्कार विपरीत भएको उल्लेख गरेका छन्।
संगठनले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग राखेको छ। धामीले चेतावनी दिँदै भने, “सरकार मौन बस्ने वा अराजकतालाई प्रश्रय दिने काम गरेमा अनेरास्ववियु सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछ।”
यस घटनाले दाङमा राजनीतिक सहिष्णुतामा कमि र पार्टीगत प्रतिस्पर्धाका क्रममा सामाजिक सद्भावमा देखिएको जोखिमलाई पुनः उजागर गरेको छ।













