घोषणापत्रको गुणस्तर बढ्यो तर संरचनात्मक सुधारमा दल मौनः डा. बाबुराम भट्टराई

User Image Prime TV News १ हप्ता अगाडि
Image of घोषणापत्रको गुणस्तर बढ्यो तर संरचनात्मक सुधारमा दल मौनः डा. बाबुराम भट्टराई

काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै तीन ठूला राजनीतिक दलहरूले सार्वजनिक गरेका चुनावी घोषणापत्रहरूको गुणस्तर विगतको तुलनामा बढेको बताएका छन्। तर, उनीहरूले आवश्यक संरचनात्मक सुधारमा भने चुपचाप रहेको टिप्पणी गरेका छन्।

डा. भट्टराईका अनुसार, जनता र विशेषगरी युवाहरूको बढ्दो आकांक्षाका कारण दलहरूले अब आफ्नो घोषणापत्रलाई स्पष्ट र संक्षिप्त बनाउने प्रयास गरेका छन्। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो घोषणापत्रलाई सापेक्ष रूपमा प्रभावकारी ढङ्गले प्रस्तुत गरेको उनले उल्लेख गरेका छन्।

पूर्वप्रधानमन्त्री भट्टराईले दलहरूले राखेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू सकारात्मक रूपमा लिएका छन्। उनले आफ्नो अर्थमन्त्री हुँदा २०६५/६६ को बजेट वक्तव्यमा उद्धृत गरेका महाकवि लक्ष्मीप्रसाद देवकोटाको पङ्क्ति ‘उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक!’ सम्झाउँदै, यस्ता लक्ष्य राख्न अस्वाभाविक नभएको बताए।

उनले भने, देशको आर्थिक वृद्धि र युवा बेरोजगारी घटाउन ‘दुई अंकको वृद्धिदर, दुई दशक निरन्तर’ लक्ष्य महत्वपूर्ण रहेको र अहिले सबै दलहरूले यसलाई आफ्नो घोषणापत्रमा समेटेकोमा खुसी व्यक्त गरे।

तर, डा. भट्टराईका अनुसार यी लक्ष्य कार्यान्वयनका लागि आवश्यक आन्तरिक र बाह्य संरचनात्मक सुधार अझै मुख्य दलहरूद्वारा उठाइएको छैन। उनी थप्छन्, “दिगो राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था हुनुपर्छ र भारत र चीनसँगको सम्बन्धमा ‘गतिशील पुल’ अवधारणा लागू गर्नैपर्छ।”

उनी चिन्ता व्यक्त गर्दै भन्छन् कि यी सुधार बिना घोषणापत्रका महत्त्वाकांक्षी लक्ष्य केवल ‘आकाशको फल आँखा तरी मर’ जस्तै रहिरहनेछ। रास्वपाले केही हदसम्म यी संरचनात्मक विषय उठाएकोमा उनले आशा देखाएका छन्।