आचारसंहिता उल्लंघनबारे ७५ जनासँग स्पष्टीकरण माग , ५२ जनाको मात्र जवाफ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । निर्वाचन आयोग नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न राजनीतिक दल तथा उम्मेदवार गरी ७५ जनासँग स्पष्टीकरण सोधेको जनाएको छ। तीमध्ये हालसम्म ५२ जनाले मात्र लिखित जवाफ बुझाएका छन्।
आयोगले फागुन १ देखि ७ गतेसम्म भएका गतिविधिबारे जानकारी सार्वजनिक गर्दै आचारसंहिता उल्लंघनका घटनालाई न्यूनीकरण गर्न प्राप्त उजुरीउपर आवश्यक जाँचबुझ र कारबाही प्रक्रिया निरन्तर अघि बढाइएको स्पष्ट पारेको छ।
आयोगका अनुसार आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रूपमा परिचालित छन्। केन्द्रीय अनुगमन समितिमा प्राप्त उजुरीमध्ये ७५ वटामा सम्बन्धित दल र उम्मेदवारसँग स्पष्टीकरण मागिएको हो।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र विषय र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ।
अनुगमन अधिकृतहरूले राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग छलफल गर्ने, उल्लंघनका घटनाबारे जानकारी संकलन गर्ने र आवश्यक परे स्पष्टीकरण लिने कार्यलाई तीव्रता दिएका छन्। आयोगले आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार र संवेदनशील बन्न पुनः आग्रह गरेको छ।












