शिक्षा सीप र नवप्रवर्तनसँग जोडिनुपर्छः प्रधानमन्त्री कार्की
Prime TV News १ हप्ता अगाडि 
पोखरा । शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताउँदै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले विश्वविद्यालय शिक्षालाई सीप, रोजगारी, उद्यमशीलता र नवप्रवर्तनसँग प्रत्यक्ष रूपमा जोड्नुपर्नेमा जोड दिएकी छन्।
शुक्रबार पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कार्कीले समकालीन समाजको आवश्यकता अनुसार गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नु आजको प्रमुख चुनौती भएको बताइन्। उनले विश्वविद्यालयका शैक्षिक कार्यक्रमलाई नवीन प्रविधि विकास र अनुसन्धानमा आधारित बनाउन आग्रह गर्दै ती कार्यक्रम राष्ट्रको अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने धारणा राखिन्।
“शिक्षालाई आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान र पाठ्यक्रम सन्दर्भहीन बन्छ,” उनले भनिन्। विश्वविद्यालय शिक्षा पूरा गरेलगत्तै ठूलो संख्यामा युवा विदेशतर्फ आकर्षित हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले स्वदेशमै अवसर सिर्जना गर्न शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताइन्।
उनका अनुसार तीव्र गतिमा बदलिँदो विश्व परिवेशमा विद्यार्थी र विश्वविद्यालय दुवैले आफूलाई प्रतिस्पर्धी र सक्षम बनाउने दिशामा केन्द्रित हुनुपर्छ। गुणस्तरमा विशेष ध्यान दिँदै विश्व बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयहरूले थप मेहनत गर्नुपर्ने उनले औंल्याइन्।
दीक्षार्थीलाई बधाई दिँदै कार्कीले प्राप्त प्रमाणपत्रलाई केवल रोजगारीको आधारका रूपमा मात्र नभई समाज र राष्ट्रका जटिल समस्या पहिचान गरी दीर्घकालीन समाधान खोज्न सक्ने क्षमताको प्रतीकका रूपमा विकास गर्न आग्रह गरिन्।













