दाङमा एमालेको झण्डा जलाएको घटनाप्रति पार्टीको कडा प्रतिक्रिया

User Image Prime TV News १ हप्ता अगाडि
Image of दाङमा एमालेको झण्डा जलाएको घटनाप्रति पार्टीको कडा प्रतिक्रिया

काठमाडौ । नेकपा एमालेले दाङमा बिहीबार आफ्नो पार्टीको झण्डा जलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एमालेका प्रेस संयोजक मीनबहादुर शाहीले शुक्रबार जारी गरेको विज्ञप्तिमा झण्डा जलाउनेहरूलाई कानुनी कारबाही गर्न सरकार, निर्वाचन आयोग र सम्बन्धित दललाई आग्रह गरिएको छ। एमालेको आरोप अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले झण्डा जलाएका हुन्।

विज्ञप्तिमा भनिएको छ कि यो घटना गत भदौ २४ गते भएका आगजनी र तोडफोडमा संलग्नहरूसँग सम्बन्धित रहेको छ। पार्टीले यस घटनालाई “अराजकता, उद्दण्डता र अपराधिक कार्य” भनेको छ र लाखौं जनतामा लोकप्रिय पार्टीप्रति आस्था चोट पुर्‍याउने कार्य भएको जनाएको छ।

साथै, अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दहरूका नाराबाजी गरिएको र महासचिव शंकर पोखरेलको गृहनगरमा रास्वपाका कार्यकर्ताहरूले गरेको यस कार्यलाई राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भनिएको छ।

एमालेले झण्डा जलाउने कार्यलाई निर्वाचन आचारसंहिता उल्लङ्घन मान्दै तुरुन्त कारबाहीको माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आयोगले सम्बन्धित दलबाट स्पष्टीकरण लिनु पर्दछ र जवाफ सार्वजनिक गर्नुपर्छ।”

पार्टीले चेतावनी दिदै भनिएको छ कि, यदि झण्डा जलाउनेहरू माथि कानुनी कारबाही नभएमा त्यसबाट उत्पन्न हुने परिस्थिति र घटनाको जिम्मेवारी सरकार, निर्वाचन आयोग र रास्वपा माथि पर्नेछ।