काठमाडौं महानगरलाई धरहरा पार्किङ र व्यवस्थापनको जिम्मेवारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of काठमाडौं महानगरलाई धरहरा पार्किङ र व्यवस्थापनको जिम्मेवारी

 काठमाडौ । काठमाडौंको ऐतिहासिक धरहरा क्षेत्रमा सवारी साधन पार्किङ सञ्चालन र व्यवस्थापनको जिम्मेवारी अब काठमाडौं महानगरपालिकालाई दिइएको छ।

शुक्रबार नेपाल सरकार र काठमाडौं महानगरबीच भएको छलफलपछि यस्तो सहमति भएको हो। नयाँ व्यवस्था अनुसार धरहराभित्रको पार्किङ सञ्चालन महानगर प्रहरी बलले गर्नेछ भने पार्किङको सुरक्षा र अन्य व्यवस्थापन कार्य नगरप्रहरीले गर्नेछ।

धरहरा क्षेत्रको समग्र सञ्चालनका लागि तत्काल र दीर्घकालीन योजना, परियोजना तथा प्रारूप अध्ययन गर्न सहरी विकास मन्त्रालय र काठमाडौं महानगरका पदाधिकारीहरूको संयुक्त समिति गठन गरिने निर्णय पनि भएको छ। समितिले अध्ययन, विश्लेषण र सुझावसहित प्रतिवेदन तयार गर्नेछ।

धरहाराको बाहिरी संरचनासम्बन्धी आवश्यक कार्यहरू पनि काठमाडौं महानगरले नै गर्नेछ। महानगरपालिकाले धरहरा सञ्चालनको पूर्ण जिम्मेवारी संघीय सरकारले हस्तान्तरण गर्न आग्रह गरेको छ। सहरी विकास मन्त्री कुमार इङ्नामले “बाहिरी संरचनाको सम्पूर्ण आर्थिक दायित्व महानगरले लिन्छ, पार्किङ र सुरक्षा तत्काल अघि बढाइनेछ,” बताएका छन्।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल सहित अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। यस निर्णयपछि धरहरा क्षेत्रमा पार्किङ, सुरक्षा र संरचनासम्बन्धी व्यवस्थापन अब पूर्ण रूपमा काठमाडौं महानगरपालिकाको नियन्त्रणमा रहनेछ।