उम्मेदवारको बैंक खाता खुलाउने दर अझै न्यून, खर्च पारदर्शितामा जोड

User Image Prime TV News १ हप्ता अगाडि
Image of उम्मेदवारको बैंक खाता खुलाउने दर अझै न्यून, खर्च पारदर्शितामा जोड

काठमाडौ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ जना उम्मेदवार रहेका भए पनि हालसम्म ६६७ जना उम्मेदवारले मात्र छुट्टै बैंक खाता खोलेका छन् ।अझै २ हजार ७ सय ३९ जना उम्मेदवारले खाता खोल्न बाँकी रहेको छ।

निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार, शुक्रबारसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेर त्यसको जानकारी आयोगलाई गराएका छन्।

उम्मेदवार र राजनीतिक दलहरूले बैंक खाता खोल्नुको मुख्य उद्देश्य निर्वाचनमा लिने आर्थिक सहायताको पारदर्शिता र खर्चको सीमा पालना गर्नु हो। निर्वाचन आयोग ऐन २०७३ को दफा १६ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ। यसै अनुरूप, निर्वाचन प्रचारप्रसार बैंक खाता कार्यविधि २०८२ जारी भई कार्यान्वयनमा आएको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार, अधिकांश उम्मेदवारले खाता राष्ट्रिय वाणिज्य बैंकमा खोल्दा केहीले ग्लोबल आइएमई बैंक, बाँकीले प्रभु बैंक र नेपाल बैंकमा खाता खोलेका छन्।

निर्वाचनमा उम्मेदवारहरूले क्षेत्र अनुसार खर्च सीमा पालना गर्नुपर्ने व्यवस्था छ। काठमाडौँका पाँच क्षेत्र (१, ३, ६, ७, ८) का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ, १७ क्षेत्रका उम्मेदवारले २७ लाख, ६५ क्षेत्रका उम्मेदवारले २९ लाख, ५२ क्षेत्रका उम्मेदवारले ३१ लाख, र २६ क्षेत्रका उम्मेदवारले ३३ लाख सम्म खर्च गर्न पाउनेछन्। समानुपातिकतर्फ हरेक उम्मेदवारको खर्च सीमा दुई लाख रुपैयाँ तोकिएको छ।

निर्वाचन खर्च तोकिएको सीमा भित्र रहेर गर्ने, र परिणाम घोषणा भएको ३५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा विवरण पेश गर्नु अनिवार्य छ। निर्वाचन आयोगले उम्मेदवार र दलहरूलाई बैंक खाता खोल्न र खर्चको पारदर्शिता कायम राख्न अविलम्ब कदम चाल्न निर्देशन दिएको छ।