४१ वटा राजनीतिक दलले मात्र आफ्नो घोषणापत्र सार्वजनिक गरे

User Image Prime TV News १ हप्ता अगाडि
Image of ४१ वटा राजनीतिक दलले मात्र आफ्नो घोषणापत्र सार्वजनिक गरे

काठमाडौ । निर्वाचनका लागि तयारी तीव्र बनेको छ, तर धेरै राजनीतिक दलहरूले अझै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न बाँकी राखेका छन्।

निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म कुल ४१ वटा राजनीतिक दलले मात्र आफ्नो घोषणापत्र सार्वजनिक गरी आयोगमा जानकारी दिएका छन्। प्रत्यक्ष निर्वाचनमा भाग लिने दलको संख्या ६७ रहेको छ भने समानुपातिक निर्वाचनमा ६३ दलका उम्मेदवार रहेका छन्। यसमध्ये ४१ दलले मात्रै घोषणापत्र सार्वजनिक गरेका छन्।

निर्वाचन आयोगले फागुन ३ गतेभित्र सबै दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गरी आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिएको थियो। आयोगका अनुसार, चुनावी घोषणापत्र सार्वजनिक गर्नुपर्ने उद्देश्य दल तथा उम्मेदवारलाई नागरिकसमक्ष जवाफदेही बनाउनु हो।

निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ अनुसार निर्वाचनमा भाग लिएका राजनीतिक दलहरूले आफ्नो घोषणापत्र तोकिएको निकायमा पेस गर्नै पर्छ। आयोगले अझै घोषणापत्र पेश नगरेका दलहरूलाई समयमै प्रस्तुत गर्न आग्रह गरेको छ ।