अत्तरियामा मोटरसाइकल दुर्घटना : तीव्र गतिका कारण तीन युवाको मृत्यु, एक गम्भीर घाइते

User Image Prime TV News १ हप्ता अगाडि
Image of अत्तरियामा मोटरसाइकल दुर्घटना : तीव्र गतिका कारण तीन युवाको मृत्यु, एक गम्भीर घाइते

धनगढी । राजमार्गअन्तर्गत कैलालीको अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

दुई मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

मृत्यु हुनेमा सुप प्र ०१–०१० प ३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली रहेका छन्। सोही मोटरसाइकलमा पछाडि सवार गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते अवस्थामा उपचाररत छन्।

यस्तै, सुप प्र ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र पछाडि सवार अन्दाजी २३ वर्षीय हरिश पार्कीको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार घटनास्थलको अवस्था हेर्दा मोटरसाइकल अत्यन्तै उच्च गतिमा चलाइएको स्पष्ट देखिन्छ। “प्रतिघन्टा १०० किलोमिटरभन्दा बढी गतिमा मोटरसाइकल चलाइएको देखिन्छ। पाङ्ग्रासहितका पार्टपुर्जा टाढाटाढासम्म उछिट्टिएका छन्,” उनले बताए।

प्रहरीका अनुसार मृतक योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परेर घाइते भइसकेका थिए। तर पनि तीव्र गति र असावधानी दोहोरिँदा यसपटक ज्यानै गुमाउनु परेको हो। मृतक हरिश ओली गोदावरी नगरपालिकामा विवाह समारोहमा सहभागी भई धनगढीतर्फ फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेका थिए।

प्रहरीले दुर्घटनाको मुख्य कारण अत्यधिक गति र लापरवाह सवारी सञ्चालन रहेको निष्कर्ष निकालेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।