प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, तीन प्रदेशमा मतपत्र ढुवानी सम्पन्न
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोग ले देशभर मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम तीव्र पारेको छ।
निर्वाचन आउन अब १२ दिन मात्र बाँकी रहँदा आयोगले हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइसकेको जनाएको छ। आयोगका अनुसार अन्य प्रदेशहरूमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानी भइरहेको छ।
राजधानी काठमाडौंका मतदान केन्द्रहरूमा समेत केही दिनभित्रै सामग्री पुर्याइने तयारी भइरहेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रयोग हुने दुवै निर्वाचन प्रणाली पहिलो हुने निर्वाचित हुने र समानुपातिका मतपत्र छपाइ कार्य यसअघि नै सम्पन्न भइसकेको आयोगले जनाएको छ।
पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाखभन्दा बढी मतपत्र छपाइ तथा प्याकिङ गरी सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइएको छ। यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न भइसकेको छ। मतपत्र ढुवानी भने प्रदेशगत रूपमा चरणबद्ध रूपमा भइरहेको आयोगले जानकारी दिएको छ।
निर्वाचनका लागि आवश्यक मतपत्र बाहेकका अन्य सबै सामग्रीको ढुवानी कार्य सम्पन्न भइसकेको आयोगको दाबी छ। आयोगका अनुसार निर्वाचन सञ्चालनका लागि कुल ५१ प्रकारका सामग्री आवश्यक पर्नेछन्।
यसअघि मतदाता शिक्षाका लागि झन्डै ११ लाख नमूना मतपत्र छपाइ गरिएको थियो। आयोगले तोकेको कार्यतालिका अनुसार छपाइ र ढुवानी कार्य अघि बढिरहेको जनाउँदै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउने तयारी भइरहेको स्पष्ट पारेको छ।













