दाङमा एमालेको झन्डा जलाउने घटनामा थप दुई पक्राउ, तीन जनामाथि अनुसन्धान जारी
Prime TV News १ हप्ता अगाडि 
दाङ । दाङको तुलसीपुरमा नेकपा एमालेको झन्डा जलाइएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। यससँगै घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ।
दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन ७ गते राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा नेपाल कम्युनिष्ट पार्टी एमालेको चुनाव चिह्न अंकित झन्डा जलाइएको थियो। उक्त घटनालाई सार्वजनिक शान्ति सुरक्षामाथिको चुनौती मान्दै प्रहरीले अनुसन्धान तीव्र बनाएको हो।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ हलवारका ३० वर्षीय रमेश राना मगर र वडा नम्बर–६ गाइडरका २४ वर्षीय विक्रम परियारलाई नियन्त्रणमा लिइएको छ। यसअघि सोही घटनामा संलग्न भएको आरोपमा बुद्धिबहादुर बस्नेत पक्राउ परिसकेका थिए।
दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार घटनामा अन्य व्यक्ति पनि संलग्न हुन सक्ने आशंकामा थप अनुसन्धान जारी छ।
प्रहरीले राजनीतिक असहमतिको नाममा सार्वजनिक स्थानमा आगजनी तथा प्रतीकात्मक हिंसा गर्ने कार्यलाई गम्भीर अपराधको रूपमा लिइने स्पष्ट पारेको छ। नेपाल प्रहरी ले यस्ता गतिविधिले सामाजिक सद्भाव बिगार्ने र अराजकता निम्त्याउने भन्दै दोषी जोसुकै भए पनि कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ ।













