आचारसंहिता विपरीतका गतिविधिमा संलग्नलाई कडा कारबाही गरिने

User Image Prime TV News १ हप्ता अगाडि
Image of आचारसंहिता विपरीतका गतिविधिमा संलग्नलाई कडा कारबाही गरिने

काठमाडौ । निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा संलग्नलाई कडा कारबाही गरिने सरकारको स्पष्ट नीति सार्वजनिक गरेको छ ।

केन्द्रीय सुरक्षा समितिले जिल्ला सुरक्षा समितिहरूलाई आचारसंहिता उल्लंघन गर्ने गतिविधिलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ।

शनिबार गृह मन्त्रालयमा बसेको समितिको बैठकमा हालसम्म देखिएका चुनावी अव्यवस्था, सुरक्षा चुनौती र आचारसंहिता उल्लंघनका घटनामाथि गम्भीर छलफल भएको थियो। 

गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार केही जिल्लामा राजनीतिक दलका झण्डा जलाउने, चुनावी प्रचारमा अवरोध गर्ने र तनाव सिर्जना गर्ने गतिविधि देखिएका छन्। दाङ, बारालगायतका स्थानमा भएका यस्ता घटनामा आवश्यक कानुनी प्रक्रिया अघि बढिसकेको उनले बताए।

समितिले अब उप्रान्त कुनै पनि दल वा समूहबाट आचारसंहिता उल्लंघन भएमा तत्काल हस्तक्षेप गर्ने र दोषीमाथि कानुनअनुसार कारबाही गर्ने निर्णय गरेको छ। साथै सबै राजनीतिक दललाई जिम्मेवार र मर्यादित ढंगले प्रचारप्रसार गर्न कडा रूपमा आग्रह गरिएको छ।

बैठकमा रौतहटमा हालै भएको झडपको विषयमा पनि छलफल भएको थियो। उक्त घटनालाई गम्भीर रूपमा लिँदै समितिले संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेको छ र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ।