रवि लामिछानेको आक्रोश : “जनतालाई झुक्याउने राजनीति अब सह्य हुँदैन”
Prime TV News १ हप्ता अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी सभामार्फत पुराना राजनीतिक दलमाथि तीव्र प्रहार गरेका छन्। उनले दशकौँदेखि जनतालाई झुक्याउँदै आएको राजनीतिक संस्कारलाई यसपटक मतबाटै समाप्त गर्नुपर्ने बताएका छन्।
शनिबार चिनवत–२ मा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले चुनावका बेला देखिने पैसा बाँड्ने, प्रलोभन देखाउने र झुटा आश्वासन दिने प्रवृत्तिलाई निर्लज्ज राजनीतिक अपराधको संज्ञा दिए। उनले त्यस्तो पैसा जनताकै कर र अधिकार खोसेर जम्मा गरिएको भन्दै त्यसप्रति नैतिक उपदेश दिन नपर्ने स्पष्ट पारे।
उनले अस्पताल नबनाएर, विद्यालयको गुणस्तर सुधार नगरी र आधारभूत पूर्वाधार छोडेर जम्मा गरिएको पैसाले चुनाव जित्ने परम्परा अब अन्त्य हुनुपर्ने बताए। पैसा लिने तर मत भने आफ्नो विवेकअनुसार हाल्ने उनको भनाइलाई चुनावी सन्देशका रूपमा लिइएको छ।
लामिछानेले ३४ वर्षदेखि दोहोरिँदै आएको सत्ता राजनीतिलाई जनतामाथिको ठगीको निरन्तरता भन्दै यसपटक त्यसको बदला मतबाट लिनुपर्ने बताए। “जनतालाई प्रयोग गरेर सत्तामा पुगेकाहरूलाई अब जनताले नै प्रयोग गरेर हटाउनुपर्छ,” भन्ने भाव उनको भाषणभरि देखिएको थियो।
भोट माग्न घरदैलो गर्ने नेताहरूप्रति पनि उनले कटाक्ष गरे। बाहिर मीठो बोली र भित्र खोक्रो नियत बोकेर आउनेहरूलाई सोझै अस्वीकार गर्नुभन्दा व्यवहारिक रूपमा सामना गर्नुपर्ने र अन्तिम निर्णय मतदान केन्द्रमै गर्नुपर्ने उनले बताए ।













