गौरको साम्प्रदायिक तनावमा निर्वाचित जनप्रतिनिधि नै शंकाको घेरामा
Prime TV News १ हप्ता अगाडि 
रौतहट । गौरमा भएको साम्प्रदायिक घटनामा गौर नगरपालिका–६ का वडाध्यक्ष अवध विहारी प्रसाद तेलीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
शान्ति कायम गर्नुपर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधिमाथि नै विवाद भड्काउन भूमिका खेलेको आरोप लागेपछि स्थिति थप संवेदनशील बनेको छ। प्रहरीका अनुसार सबगढा क्षेत्रमा सुरु भएको विवादलाई मत्थर पार्नुको सट्टा तनाव चर्काउने गतिविधिमा संलग्न भएको आशंकामा तेलीलाई नियन्त्रणमा लिइएको हो।
उनी नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित वडाध्यक्ष हुन् र पार्टी अध्यक्ष माधव नेपाल निकट मानिन्छन्। प्रहरी उच्च स्रोतले हिन्दु समुदायलाई लक्षित गर्दै हिंसात्मक गतिविधि उक्साएको आरोप लागेको जनाए पनि घटनामा प्रत्यक्ष संलग्नता पुष्टि भइसकेको छैन।
जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले वडाध्यक्ष तेलीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको पुष्टि गरेका छन्। प्रशासनका अनुसार घटनाको कारण, उक्साहट र सम्भावित राजनीतिक भूमिका सबै कोणबाट केलाइँदै छ।
यसअघि सोही घटनामा जनमत पार्टीका जिल्ला संयोजक तथा सोही वडाका पूर्व वडाध्यक्ष शेख जमशेद पनि प्रहरी नियन्त्रणमा परिसकेका छन्। एउटै घटनामा फरक राजनीतिक दलसँग आबद्ध व्यक्तिहरू मुछिनुले गौरको घटनालाई साधारण झडपभन्दा गम्भीर बनाएको देखिन्छ।
घटनापछि गौर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रशासनले थप तनाव फैलिन नदिन सुरक्षाकर्मी परिचालन बढाएको छ र सबै पक्षलाई संयमता अपनाउन कडा चेतावनी दिएको छ।













