शान्ति कायम गर्न सबै पक्षलाई संयमता अपनाउन माधव नेपालको आह्वान

User Image Prime TV News १ हप्ता अगाडि
Image of शान्ति कायम गर्न सबै पक्षलाई संयमता अपनाउन माधव नेपालको आह्वान

काठमाडौ । रौतहटको गौर नगरपालिका–६ सबगढामा दुई समुदायबीच फैलिएको साम्प्रदायिक तनावले गम्भीर रूप लिँदै गएपछि नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपालले कडा शब्दमा चिन्ता व्यक्त गरेका छन्।

घटनास्थल नजिकै रहेका नेपालले शान्ति कायम गर्न सबै पक्षलाई संयमता अपनाउन आह्वान गर्दै कुनै पनि नागरिक असुरक्षित हुनु राज्यका लागि लाजमर्दो अवस्था हुने बताएका छन्।

उनले साम्प्रदायिक द्वन्द्वका कारण गौरको जनजीवन अस्तव्यस्त बनेको र सामान्य नागरिक त्रासमा बाँच्न बाध्य भएको बताए। “हिन्दु होस् वा मुस्लिम, कसैको घर, परिवार र जीवन जोखिममा पर्नु भनेको गम्भीर असफलता हो,” उनले भने, “यस्तो अवस्था कुनै पनि हालतमा सह्य हुँदैन।”

नेपालले धर्मका नाममा घृणा फैलाउने प्रवृत्तिलाई सिधै आपराधिक मानसिकता भएको टिप्पणी गरे। एउटै समाजमा बस्ने समुदायबीच द्वन्द्व भड्काएर राजनीति गर्न खोज्नु घातक हुने उनको भनाइ थियो। सबै धर्म, संस्कार र चाडपर्वको सम्मान नगरे समाज टिक्न नसक्ने उनले स्पष्ट पारे।

स्थिति नियन्त्रणबाहिर जान सक्ने संकेत देखिएपछि आफूले केन्द्र सरकारसँग तत्काल सम्पर्क गरेको पनि नेपालले खुलाए। उनले गृहमन्त्रालयसँग कर्फ्यु लगाउने, सशस्त्र प्रहरी परिचालन गर्ने र आवश्यक परे सेना परिचालनसमेत गर्न सुझाव दिएको बताए। साथै जनकपुरस्थित सुरक्षा निकायका उच्च अधिकारी, जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग निरन्तर संवाद भइरहेको उनले जानकारी दिए।

नेपालले समस्या बल प्रयोग वा घृणाबाट होइन, संवाद र जिम्मेवारीबाट समाधान गर्नुपर्नेमा जोड दिए। “एक–अर्कालाई निषेध गरेर होइन, सम्मान गरेर समाज चल्छ,” उनले भने, “कुनै व्यक्तिको जीवन असुरक्षित नहोस्, कसैको घरमा क्षति नपुगोस्, कसैको इज्जतमा आँच नआओस्—यो सुनिश्चित गर्नु राज्यको पहिलो कर्तव्य हो।”