झन्डा च्यातिएको भिडिओ पछि वाइसीएल आक्रामक, राज्यलाई जिम्मेवारी लिन चेतावनी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) ले पार्टीको झन्डामाथि भइरहेका गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै राज्य संयन्त्रलाई कडा चेतावनी दिएको छ।
पछिल्लो समय झन्डा जलाउने, च्यात्ने र राजनीतिक कार्यक्रम बिथोल्ने घटनाहरू बढ्दै गएको भन्दै वाइसीएलले यसलाई लोकतान्त्रिक अभ्यासविरुद्धको अराजनीतिक गतिविधि भनेको छ।
एक युवतीले नेकपाको झन्डा च्यातेर फ्याँकेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि वाइसीएलका अध्यक्ष पुष्प वलीले विज्ञप्ति जारी गर्दै प्रतिक्रिया दिएका हुन्। विज्ञप्तिमा राजनीतिलाई गलत दिशामा धकेल्न खोज्ने देशी विदेशी प्रतिक्रियावादी तत्त्वहरूको योजनाबद्ध प्रयासका रूपमा यस्ता गतिविधि भइरहेको आरोप लगाइएको छ।
वाइसीएलले लोकतन्त्रमा असहमति स्वाभाविक भए पनि असहिष्णुता र उच्छृङ्खलता स्वीकार्य नहुने स्पष्ट पारेको छ। झन्डामाथि आक्रमण गर्नु राजनीतिक विरोध नभई अराजकता भएको उल्लेख गर्दै संगठनले त्यसको घोर विरोध र भर्त्सना गरेको छ।
विज्ञप्तिमा कानुनी राज्य र विधिको शासनप्रति आफूहरू प्रतिबद्ध रहेको दाबी गर्दै निर्वाचन आयोग, प्रहरी र प्रशासनलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ। यस्ता गतिविधि समयमै नियन्त्रण नगरे जनस्तरबाट प्रतिरोध उत्पन्न भए त्यसको नैतिक जिम्मेवारी राज्य र संलग्न पक्षले नै लिनुपर्ने चेतावनी पनि वाइसीएलले दिएको छ।













