गौरमा कर्फ्यु कायमै, अत्यावश्यक बाहेक सबै गतिविधि निषेध

User Image Prime TV News १ हप्ता अगाडि
Image of गौरमा कर्फ्यु कायमै, अत्यावश्यक बाहेक सबै गतिविधि निषेध

रौतहट । स्थानीय विवादका कारण तनावग्रस्त बनेको गौर नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आइतबार पनि जारी राखिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म अत्यावश्यक कामका लागि मात्र कर्फ्यु अस्थायी रूपमा खुकुलो पारिएको हो।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी गरेको आदेशअनुसार उक्त समयावधिमा पनि सभा, जुलुस, भेला तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ। बिहान साढे ८ बजेदेखि भने अर्को सूचना जारी नभएसम्म कर्फ्यु निरन्तर लागू रहने प्रशासनले जनाएको छ।

प्रशासनले तोकेको कर्फ्यु क्षेत्र पूर्वमा मुडबलवा गेट, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म फैलिएको छ। यस चार किल्लाभित्र सर्वसाधारणको आवतजावत, समूहगत गतिविधि र राजनीतिक प्रदर्शनमा पूर्ण रोक लगाइएको छ।

स्थानीय समुदायबीच उत्पन्न विवादले स्थिति बिग्रिएपछि शनिबार दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। अवस्था केही नियन्त्रणमा आएको भए पनि थप हिंसा भड्किन नदिन कर्फ्यु कायम राखिएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।

कर्फ्यु उल्लङ्घन गर्नेहरूलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिँदै प्रशासनले शान्ति सुव्यवस्था कायम गर्न स्थानीय बासिन्दालाई संयम र सहयोग गर्न आग्रह गरेको छ।