सज्जनराज वैद्यले पहिलोचोटी जापानमा लाइभ कन्सर्ट गर्दै, विद्यार्थीलाई विशेष छुट
Prime TV News १ हप्ता अगाडि टोकियो । युवा पुस्तामाझ अत्यधिक रुचाइएका गायक सज्जनराज वैद्यले पहिलोचोटी जापानमा लाइभ कन्सर्ट गर्ने भएका छन् ।
आगामी २०२५ को मार्च १० तारिखका दिन सज्जनराज वैद्यको लाइभ कन्सर्ट टोकियो हाराजुकु स्टेशनबाट मात्र ३ मिनेटको दुरीमा रहेको योयोगी नेशनल स्टेडियममा हुने बताइएको छ ।
करिब ५ हजार सिट क्षमता भएको उक्त नेशनल स्टेडियममा पहिलोचोटी नेपालीको ऐतिहासिक कार्यक्रम हुन लागेको हो । करिब एक वर्ष लामो निरन्तर प्रयासपछि कन्सर्टका लागि उक्त स्टेडियम उपलब्ध हुन सकेको जिएमटी इन्टरनेशनलले जानकारी दियो ।
जिएमटी इन्टरनेशनलको मुल ब्यानरमा हुन लागेको उक्त लाइभ कन्सर्टका लागि नेपालबाट दर्जनभन्दा बढी कलाकारहरू जापान आउने भएका छन् । राजधानी टोकियोबाहेक नागोया, फुकुओका र ओसाका सहरमा पनि सज्जनराज वैद्य ब्याण्डको लाइभ कन्सर्ट हुने तैयारी भइरहेको बुझिएको छ ।
यो ब्याण्डको लाइभ कन्सर्ट यसअघि बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलियाका विभिन्न सहरहरूमा दर्जनौपटक र मध्यपूर्वका दुबाई, दोहा, भारतका मुम्बई, दिल्ली लगायतका सहरमा पचासौँ हजार दर्शकहरूका माझ धेरैपटक भइसकेको भएता पनि जापानमा भने पहिलोचोटी हुन लागेको हो ।
मार्च १० तारिखका दिन हुने लाइभ कन्सर्टको टिकट अंग्रेजी नयाँ वर्ष २०२६ लागेसँगै अनलाइनमार्फत बिक्रीमा राखिने आयोजक स्रोतले जनाएको छ । साथै विद्यार्थीहरूलाई २० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने आयोजक टिमले बताएका छन्।












