अमेरिकी आयातमा १५ प्रतिशत भन्सारशुल्क लागू, अदालतको फैसलापछि ट्रम्पको नयाँ आदेश

User Image Prime TV News १ हप्ता अगाडि
Image of अमेरिकी आयातमा १५ प्रतिशत भन्सारशुल्क लागू, अदालतको फैसलापछि ट्रम्पको नयाँ आदेश

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशबाट हुने आयातमा लाग्ने भन्सारशुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याउने आदेश जारी गरेका छन्। यो निर्णय अमेरिकाको सर्वोच्च अदालतले उनको अघिल्लो भन्सारशुल्क कार्यक्रम गैरकानुनी ठहर गरेलगत्तै आएको हो।

अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार ६–३ को फैसलामा ट्रम्पले १९७७ को ‘इन्टरनेसनल इमरजेन्सी इकोनोमिक पावर्स एक्ट’ प्रयोग गर्दै आफ्नो अधिकारको दुरुपयोग गरेको ठहर गरेको थियो।

अदालतले उक्त कानुनको आधारमा लगाइएको भन्सारशुल्क खारेज गरेपछि ट्रम्पले वैकल्पिक कानुनी प्रावधान प्रयोग गर्दै नयाँ आदेश जारी गरेका हुन्। नयाँ आदेश १९७४ को व्यापार ऐनको धारा १२२ अन्तर्गत जारी गरिएको जनाइएको छ। उक्त धाराले राष्ट्रपतिलाई भुक्तानी सन्तुलनमा गम्भीर समस्या देखिएमा अधिकतम १५ प्रतिशतसम्म भन्सारशुल्क १५० दिनका लागि लगाउन अनुमति दिन्छ।

सामाजिक सञ्जालमार्फत ट्रम्पले दशकौँदेखि अमेरिकालाई 'आर्थिक रूपमा लुटिरहेको' आरोप लगाउँदै विश्वभरका देशहरूमा १५ प्रतिशत भन्सारशुल्क लागू गरिएको दाबी गरेका छन्। उनले यो अवधिभित्र कानुनी रूपमा स्वीकार्य नयाँ भन्सारशुल्क संरचना ल्याइने पनि बताएका छन्।

तर व्यापार विज्ञहरू र कानुनी विश्लेषकहरूले यो कदम अस्थायी र कमजोर कानुनी आधारमा टेकेको चेतावनी दिएका छन्। धारा १२२ अन्तर्गत लगाइएको भन्सारशुल्क अमेरिकी संसद्को स्वीकृति बिना १५० दिनभन्दा बढी लागू हुन सक्दैन। साथै, यस निर्णयविरुद्ध पुनः कानुनी चुनौती आउने सम्भावना उच्च रहेको बताइएको छ।