भारत–ब्राजिलबीच क्रिटिकल मिनरल्समा ऐतिहासिक समझदारी, २० अर्ब डलर व्यापार लक्ष्य
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । भारत र ब्राजिलबीच रणनीतिक रूपमा महत्वपूर्ण ‘क्रिटिकल मिनरल्स’ र ‘रेयर अर्थ्स’ क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। २१ फेब्रुअरीमा सम्पन्न उक्त सहमतिलाई ऊर्जा सुरक्षा र आपूर्ति शृंखला सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
एआई सम्मेलनका लागि भारत भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपतीले भारतीय प्रधानमन्त्रीसँग नयाँ दिल्लीमा भेटवार्ता गर्दै समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। विस्तृत द्विपक्षीय छलफलपछि सहकार्यलाई अन्तिम रूप दिइएको जनाइएको छ।
प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा उक्त समझदारीलाई भविष्यको ऊर्जा सुरक्षाका लागि ‘कोसेढुंगा’को संज्ञा दिँदै यसले लचिलो र विश्वसनीय आपूर्ति शृंखला निर्माणमा मद्दत गर्ने बताए। हाल भारत दुर्लभ खनिज आवश्यकताका लागि ठूलो मात्रामा चीनमा निर्भर रहेको सन्दर्भमा ब्राजिलसँगको साझेदारीलाई रणनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ।
ब्राजिलसँग विश्वकै दोस्रो ठूलो क्रिटिकल मिनरल भण्डार रहेको बताइन्छ। यी खनिज विद्युतीय सवारीसाधन, सौर्य ऊर्जा प्रविधि, स्मार्टफोन, जेट इन्जिन र निर्देशित क्षेप्यास्त्र निर्माणसम्म प्रयोग हुने भएकाले यसको भूराजनीतिक महत्व उच्च छ। भारतीय विदेश मन्त्रालयका सचिव पी. कुमारनका अनुसार ब्राजिलको कुल भण्डारमध्ये करिब ३० प्रतिशत मात्र अन्वेषण गरिएको छ, जसले भविष्यमा अन्वेषण र प्रशोधनका क्षेत्रमा ठूलो सम्भावना देखाउँछ।
राष्ट्रपति लुलाले ब्राजिल केवल कच्चा पदार्थ निर्यात गर्ने मुलुकका रूपमा सीमित रहन नचाहेको स्पष्ट पार्दै भारतमा प्रत्यक्ष लगानी, प्रविधि हस्तान्तरण र जनशक्ति तालिममा समेत सहकार्य विस्तार गर्ने बताएका छन्। नवीकरणीय ऊर्जा र खनिज प्रशोधन क्षेत्रमा संयुक्त परियोजना अघि बढाउने तयारीसमेत भएको जनाइएको छ।













