बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न राष्ट्र बैकले पुनः ३० अर्ब रुपैयाँ तान्दै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल राष्ट्र बैंकले बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न पुनः ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (रिभर्स रिपो) मार्फत ८९ दिनका लागि उक्त रकम बजारबाट तान्ने निर्णय गरेको हो।
राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसअघि अघिल्लो साता मात्रै ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको थियो।
केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेप ७७ खर्ब ३० अर्ब रुपैयाँ नाघेको छ। तर सोही अवधिमा कर्जा लगानी भने ५७ खर्ब ९५ अर्ब रुपैयाँ हाराहारीमा सीमित रहेको छ। कर्जा माग अपेक्षित रूपमा बढ्न नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको अवस्था छ।
समीक्षा अवधिमा बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७४.२१ प्रतिशत मात्रै रहेको छ, जुन नियामकीय सीमाभन्दा उल्लेख्य रूपमा कम हो। यस आधारमा बैंकहरूसँग १५ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य स्रोत उपलब्ध रहेको देखिन्छ।
कर्जा माग सुस्त रहँदा बैंकहरूले संकलित निक्षेप प्रभावकारी रूपमा परिचालन गर्न नसकेको अवस्था छ। यसले ब्याजदरमा दबाब पर्नुका साथै बैंकहरूको आम्दानीमा समेत असर पार्ने विश्लेषण गरिएको छ। यस्तो अवस्थामा राष्ट्र बैंकले बजार सन्तुलन कायम राख्न र मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन निक्षेप संकलन उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गरिरहेको छ।
अर्थविद्हरूका अनुसार कर्जा विस्तारमा सुधार नआएसम्म केन्द्रीय बैंकले यस्ता उपकरणको प्रयोग जारी राख्ने सम्भावना देखिन्छ।













