चुनाव स्थगित गर्ने प्रयासहरू अझै भइरहेको छः एमाले अध्यक्ष केपी ओली
Prime TV News १ हप्ता अगाडि 
झापा । केपी शर्मा ओलीले निर्वाचन अब निर्धारित समयमै हुनुपर्नेमा जोड दिँदै आफ्नो दल नेकपा एमाले चुनाव जित्ने तयारीमा रहेको बताएका छन्। अध्यक्ष ओलीले चुनाव स्थगित गर्ने प्रयासहरू अझै भइरहेको दाबी गरे।
ओलीले भने, “हामी अब चुनाव होस् भन्ने पक्षमै छौं। चुनाव स्थगित हुन सक्दछ, तर हामी नअलमलिकन विजयको तयारीमा छौं। अब कुनै अलमल हुनु हुँदैन।” उनले राज्य र उम्मेदवारहरूले चुनाव तयारीमा खर्च गरेको ठूलो धनराशी पनि स्मरण गराए।
विगत ६ महिनादेखि निर्वाचन सुनिश्चित गर्न प्रयास गर्दा चासो नदिइएको तर अन्तिम समयमा आएर चुनाव नहुने कुरा उठाउनु गलत भएको ओलीको भनाइ थियो। “देशको खर्च अर्बौंमा पुगेको छ। उम्मेदवारहरूको खर्च पनि भइसकेको छ। अब चुनाव हुँदैन भन्नु उचित होइन,” उनले थपे।
साथै, अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी लाई लक्षित गर्दै भने, “कुनै आधार नभएको ‘जोडजाम वाला पार्टी’ सानो भाँडोमा चर्को आगो बालेर उम्लिएको दूधजस्तो व्यवहार गरिरहेको छ। हार्ने अनुमानपछि झण्डा जलाउने, वातावरण बिथोल्ने, अपमान गर्ने गतिविधि शुरु गरेको देखिन्छ।”
ओलीले एमाले पूर्ण तयारीका साथ चुनावमा होमिने र विजय सुनिश्चित गर्ने लक्ष्यमा अघि बढिरहेको स्पष्ट पारे।












